- तुलसी गिरी ‘भावुक’
सङ्गीतकार सन्तोष श्रेष्ठको नाम नसुन्ने नेपाली गीतका श्रोता सायदै होलान् l मुख्य पेशा सङ्गीत सिर्जना भएपनि उनी गायनमा समेत राम्रो क्षमता भएका थोरै सङ्गीतकारहरु मध्येमा पर्छन् l उनले रेडियो नेपालबाट स्वर परीक्षा समेत उत्तीर्ण गरेका छन् l ३८ बर्षको युवा उमेरमै एकल सङ्गीतका २९ वटा एल्बम र ९ वटा चलचित्रमा सङ्गीत दिनुका साथै ७ वटा एकल गायन प्रस्तुति, २ वटा साहित्यिक कृति प्रकाशन, अवार्ड तथा सङ्गीतका विभिन्न प्रतिस्पर्धात्मक २३ समारोहहरुमा निर्णायक र ३६ वटा पुरस्कार, सम्मान एवं अवार्ड प्राप्त गर्नुलाई नि:सन्देह असामान्य उपलव्धीको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l आफ्नो विधामा विशिष्ठता हासिल नगरी यो सहभागिता, संलग्नता र यति धेरै कीर्ति असम्भव नै हुन्छ l सन्तोषले सङ्गीत सिर्जनाको साथसाथै बेला बेलामा नेपाली सङ्गीतको अध्ययन गरी कार्यपत्र समेत प्रस्तुत गर्दै आएका छन् lतत्कालिन हापुर गाबिस-८, र हालको घोराही उपनपा-१२, दाङ निवासी पिता यज्ञ बहादुर श्रेष्ठ र माता देवा श्रेष्ठको कोखबाट २०३७ साल माघ २१ गते पहिलो सन्तानका रुपमा जन्मिएका सन्तोष श्रेष्ठका २ भाइ र १ बहिनी समेत छन् l उनी स्कूल पढ्दा साङ्गीतिक माहोल थिएन l स्कुले जीवनभर सङ्गीतप्रति कत्तिपनि झुकाव नदेखाएका सन्तोष आई. ए. दोस्रो बर्षको पढाई सकिनै लाग्दा आश्चर्यलाग्दो तरिकाले सङ्गीतमा उदाएका थिए l जुन घटनाको पछाडि एउटा रोचक कथा छ l बाल मनोविज्ञानको अति संवेदनशील एउटा घटनाका पात्र सन्तोष स्कुले जीवनभर किन एकान्तिक र अन्तर्मुखी स्वभावका भए ? र क्षमता छँदाछँदै त्यो बीचमा उनको प्रतिभा किन प्रस्फुटन भएन ? कथा यस्तो छ- ‘सानोमा म चंचल स्वभावकै थिएँ रे ! कोठा अभावका कारण १ र २ कक्षा हामी एउटै हलमा दुईतिर फर्किएर पढ्थ्यौं l म १ कक्षामा थिएँ l हल ठूलो थियो तर छानो थिएन l पानी पर्न लाग्यो भने छुट्टी हुन्थ्यो l एउटा कक्षामा पढाएको अर्को कक्षालाई सबै थाहा हुन्थ्यो l एकदिन २ कक्षामा सर आउनुभयो तर हाम्रोमा आउनुभएको थिएन l हल एउटै भएकोले हामी चुपचाप २ कक्षामा पढाएको सुनेर बस्यौं l २ कक्षामा सरले ‘हाम्रो राजाको नाम के हो ?’ भनेर सोध्नुभयो l कोहीपनि नबोलेपछि जुरुक्क उठेर मैले ‘श्री ५ वीरेन्द्र’ भन्दिएँ l १ मा भर्ना हुनु अघि नै बुबाले मलाई राजारानी र प्रधानमन्त्रीको नामदेखि विकाश क्षेत्र, अंचल, जिल्ला लगायतका कुराहरु सिकाउनुभएको थियो l उत्तर दिनासाथ सरले ‘२ कक्षालाई सोधेको कुरा १ कक्षाकोले किन उत्तर दिईस् ?’ भन्दै मेरो कान निमोठ्नुभयो l मलाई जानेको कुरा भन्यो भने कान निमोठ्ने रैछ भन्ने पर्यो l त्यसपछि म कक्षामा त्यति बोल्ने छाडेछु l जानेको कुरा पनि कान निमोठ्लान् भनेर भन्न मन लाग्दैनथ्यो l मेरो मनमा कस्तो डर पस्यो, कस्तो छाप बस्यो त्यस दिनदेखि लाइनमा गाउने र कक्षा गीत समेत गाईन l त्यो घटनाले गर्दा मेरो बानी व्यहोरामा ठूलो परिवर्तन आएछ र म घरमा पनि अलि सुस्त खालको भएछु l किन यस्तो भयो ? भनेर सोधखोज गर्दै जाँदा बुबाले त्यो घटना थाहा पाउनुभएछ l त्यसपछि सरले अफिसमा सबै टिचरको अगाडि माफी माग्नुभयो l सर अस्थाई हुनुहुन्थ्यो, सायद उहाँलाई आत्मग्लानी भयोहोला’ स्कूल पनि छाड्नुभयो l म १० कक्षा पढ्दासम्म कुनैपनि अतिरिक्त क्रियाकलापमा सहभागी नै भईन l’ बच्चाहरुको मन कति संवेदनशील हुन्छ ? सानो बालक या बालिका सम्झिएर बोलिएका अपशब्द र गरिएका दुर्व्यबहारले उनीहरुको मस्तिष्कमा जीवनपर्यन्त कसरी छाप बस्न सक्छ भन्ने गहिरो शिक्षा पनि हो यो lसन्तोष अगाडि भन्छन् -‘ एस. एल. सी. पछि महेन्द्र बहुमुखी क्याम्पस, दाङमा आई. ए. पढ्न थालें l आई. ए. सकिने बेलासम्म पनि म उस्तै थिएँ l खुल्न सकेको थिईन l आई. ए. सेकेन्ड ईयरको परीक्षाको लागि विदा हुने अघिल्लो दिन क्याम्पसमा लोकगीत प्रतियोगिताको आयोजना गरिएको थियो l खै के मूड चल्यो, प्रतियोगितामा भाग लिएँ र आफैंले बनाएको गीत ‘चौतारीमा हावा सरर’ गाएँ l पुरस्कार प्राप्त गर्ने साथीहरु घरतिर लागिसकेका थिए l मलाई त कुनै आशा नै थिएन, तरपनि रमाइलो माहोल भएकोले बसिरहेको थिएँ l प्रथम विजेताको रुपमा मेरो नाम आउँदा खुशीको सिमा भएन l त्यहीबेला सायद मेरो गएको सातो फर्कियो कि ! मैले पनि केही गर्न सक्छु, म अगाडि आउनुपर्छ भन्ने उत्साह एकाएक पलाएर आयो l त्यहीवर्ष अर्थात ०५६ सालमा काठमाण्डौ आएँ र अर्जुन मिलनको शब्दमा ‘जाउँ त माया उँधै सलल’ बोलको लोकगीत रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा सुरु गरें l उहाँ भीमार्जुन हुनुहुँदो रैछ, धेरैपछि मात्र थाहा पाएँ l अहिले लाग्छ, सरले मेरो कान ननिमोठ्नुभएको भए सायद मेरो सङ्गीत यात्रा अलि छिट्टै सुरु हुन्थ्योहोला l’ काठमाण्डौ आएपछि स्नातक पढ्दै सङ्गीत सिक्दै गरेका सन्तोषले सङ्घर्षका सुरुआती दिनहरुमा होटलतिर गायकको रुपमा पनि काम गरेका थिए l ‘पहिलो र दोस्रो गीत रेकर्ड गर्नका लागि बुबाले नै पैसा दिनुभएको थियो l लगानी रिटर्न नभएपछि ठाडै विरोध त गर्नुभएन तर गीत-सङ्गीतमा नलागे हुन्थ्यो भन्ने बुबाको ईच्छा मैले बुझेको थिएँ l बुबा हेल्थपोष्टमा काम गर्नुहुन्थ्यो र म पनि स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा लागे हुन्थ्यो भन्ने उहाँको चाहना थियो l कतै मेरो भविष्य गोलमाल हुने त हैन ? भन्ने चिन्ता थियो बुबालाई l तर मेरो भाग्यमा सङ्गीत नै लेखेको रैछ !’ सन्तोष भन्छन् l सङ्गीतमा सङ्घर्ष गर्दै उनले स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् lआधुनिक, राष्ट्रिय भाव,गजल, चेतनामूलक र नेपालभाषा गरी एकल सङ्गीतका ‘चिनारी, साधना, सङ्गम, गरिमा, जिन्दगीको झलक, मितेरी, सौभाग्य, क्षितिज, गुन्जन, अनुभूति, सभ्यता, आत्मियता, महापुरुषको नेपाल, शराव, परिभाषा, पल्लवी, मधुरता, सरसफाई अभियान, सुरक्षा, साथी, मित्रता, गन्तव्य, सपना हजार, मतिनाया ख, फूल झैं जीवन, प्रवाह, जुहार, जोहो र अन्तराप’ गरी २९ एल्बम प्रकाशन गरिसकेका सन्तोषका कूल एल्बम मध्ये केही शाश्त्रीय सङ्गीतमा आधारित रहेका छन् l उनका सङ्गीतका ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र, आउँछु भनि निष्ठुरीले भर किन पार्नु, तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो, तिम्रो दिलमा चोट लाग्दा, किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै, तिमीले हाँसो लुटी लग्यौ रुँदैरुँदै बाँचेकी छु, तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले, परेलीको वर्षातले छातीभित्र पहिरो गयो, तिम्रै यादमा भित्रभित्रै जलिजली बाँचेकी छु, कोपिलामा सुन हुन्छ’ लगायतका गीत सङ्गीत क्षेत्रका सर्वाधिक लोकप्रियको सूचीमा रहेका छन् l उनले हालसम्म नरङ्गिएको सिउँदो, अकिन्चन, लालजोडी, कुईनेटो, जुवेनाईल, हैरान, लखपति माग्ने, लावाजुनी र नदेखिएको जात’ नामका चलचित्रका गीतमा सङ्गीत दिएका छन् l एक दर्जनजति संघ-संस्थाका संस्थापक अध्यक्ष, संस्थापक उपाध्यक्ष, संस्थापक सदस्य, आजीवन सदस्य र कार्यसमिति एवं साधारण सदस्य रहेका सन्तोष हाल नेपाल साङ्गीतिक सङ्घमा महासचिव रहेका छन् l उनले सङ्गीत सिर्जना सँगसँगै साहित्यमा समेत कलम चलाएका छन् l हालसम्म उनका ‘आँशु’ [गजलसङ्ग्रह-२०६२] र ‘अधुरो सपना’ [लघु कथासङ्ग्रह-२०६८] प्रकाशित छन् l वर्तमान सङ्गीत बजारमा कहलिएका र व्यावसायिक रुपमा चलेका सङ्गीतकारहरुको नाम लिनुपर्दा सन्तोष श्रेष्ठको नाम पनि अग्र लहरमा आउँछ l सङ्गीत सिर्जना सँगसँगै आफ्नो क्षेत्रसँग सम्बन्धित विविध क्रियाकलपहरुमा समेत सक्रिय रहँदै आएका सन्तोषको अर्को महत्वपूर्ण पाटो भनेको उनको सामाजिक, सरल र सहयोगी छवि हो l यिनै अमूल्य गुणहरुले गर्दा पनि उनको सिर्जनशील यात्रा अझ गतिमय र सार्थक बनेको छ र उनको यात्रामा संधै वहार छाएको छ lhttps://www.youtube.com/watch?v=-7QzKHHCnt4