चलचित्र ‘मुर्चुङ्गा’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका कला राई एक सम्भावना बोकेकी कलाकार हुन् । पहिलो चलचित्र प्रदर्शन नै नभई उनी अहिले अर्को चलचित्रमा ब्यस्त छिन् । ‘मुर्चुङ्गा’ प्रदर्शन नै नभई उनको दोश्रो चलचित्र ‘आरुषि’ यतिबेला छायाङ्कनको अन्तिम चरणमा छ । लभस्टोरी चलचित्र ‘आरुषि’ मा उनले इशक राईसँग स्क्रिन शेयर गरेकि छिन् । यसैगरी ‘आरुषि’ पछि उनी अर्को चलचित्रमा समेत अनुबन्ध भइसकेकी छिन् । जसमा उनी शीर्ष भूमिकामा नै रहने छिन् ।
कलाकारितालाई नै आफ्नो भविष्य ठानी फिल्म क्षेत्रमा प्रवेश गरेकी कलाको कामको सुटिङ यूनिटमा चर्चा बढ्दै गएको छ । चलचित्रका निर्मातामध्ये एक सहारा प्रधानले कलाको कामको खुलेर प्रशंसा गरेका छन् l निर्देशक उदय सुब्बा कलामा अभिनय क्षमता धेरै रहेको बताउँछन् । चलचित्र ‘आरुषि’ बाट धेरै आशा राखेको बताउदै नायिका राईले यो फिल्मले आफूलाई नेपाली रजतपटमा स्थापित गराउने विश्वास व्यक्त गरेकी छिन् ।
उदय सुब्बा निर्देशित चलचित्र ‘आरुषि’ विरु गुरुङ, सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको यस चलचित्रमा विक्रम डिसीको छायाङ्कन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बूको सङ्गीत रहेको छ भने कमल राई र दिनेश पाख्रिनले कोरियोग्राफी गरेका छन् । निर्देशक उदय सुब्बाका अनुसार चलचित्र नयाँ बर्षको अवसरमा प्रर्दशन हुने छ ।