नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत तथा कुलेन्द्र वि. क. र विष्णु माझीको स्वर रहेको लोकदोहोरी ‘सालको पात टपरी हुनी’ को भिडियोको युट्युब भ्युजले १.५ मिलियन अर्थात १ करोड ५० लाख नाघेपछि सो खुशीयालीमा केक काटेर ‘सेलिब्रेशन’ गरिएको छ l अनामनगरस्थित युनियन हाउसको सभा हलमा आयोजित सो सेलिब्रेशन समारोहमा ‘लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुनी’ करोड क्लव प्रवेश तथा ‘वसन्त थापा’ युट्युव च्यानल भेरिफाइड भएको उपलक्ष्य’ लेखिएको व्यानर टाँगिएको थियो l भरखरै ‘भेरिफाइड’ भएको लोकप्रिय सर्जक/कलाकार वसन्त थापाको युट्युब च्यानल ‘वसन्त थापा’ मा २८ मात्र भिडियो अपलोड भएका छन् भने लगभग डेढ लाखको हाराहारीमा सब्स्क्राईबर पुगिसकेका छन् l
सेलिब्रेशन समारोह अग्रज सर्जक/कलाकार नारायण रायमाझीको प्रमुख आतिथ्य एवं अभ्यास डिजिटलकी प्रवन्ध निर्देशक राधा मल्ल थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने समारोहमा गीतसँग सम्बन्धित सर्जक, कलाकार र प्राविधिक बाहेकका चर्चित गीतकार, सङ्गीतकार, गायक-गायिका, मोडल, भिडियो निर्देशक, म्युजिक कम्पनीका संचालक र संचारकर्मीहरुको उल्लेख्य उपस्थिति उल्लेख्य रहेको थियो l समारोहमा सिट क्षमता भन्दा लगभग दोब्बर सर्जक, कलाकर्मीहरुको उपस्थिति भएका कारण झन्डै आधाजसोले उभिएरै धैर्यतापूर्वक सहभागिता जनाएका थिए l
कार्यक्रममा अग्रज कलाकर्मी नारायण रायमाझी, कृष्णसुधा ढुंगाना, ऋषि अधिकारी, ईन्द्र जी. सी., शर्मिला गुरुङ लगायतलाई सम्मान गरिएको थियो भने ‘सालको पात टपरी’ का गीतकार नवराज पन्त, सङ्गीतकार वसन्त थापा र गायक कुलेन्द्र विश्वकर्मालाई जनही रु. ५०-५० हजार प्रदान गरिएको थियो l यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन निर्माण सहयोगार्थ रु. ५० हजार र कीर्तिपुरस्थित बालगृह माया घरलाई रु. १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो l समारोहमा ‘सालको पात टपरी’ का भिडियो निर्देशक शिव बि. क., मोडल मरिश्का पोखरेल, छायाकार ज्ञानेन्द्र शर्मा, गीतका एरेन्जर आशिष अविरल र वसन्त थापा युट्युब हेरदेख गर्ने प्राविधिक राजेन्द्र आर्याल जनही १०-१० हजार नगदबाट सम्मानित भएका थिए l भिडियोमा गीतका सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा, मरिश्का पोखरेल र साथीहरुको नृत्य-अभिनय रहेको छ l यसैगरी यस गीत र भिडियोसँग सम्वन्धित सबै कलाकार/प्राविधिक लगायत संचारकर्मीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो l सङ्गीत क्षेत्रमा यस प्रकारका ‘सेलिब्रेशन’ विरलै मात्र हुने गरेका छन् l
यस भिडियोले युट्युबमा नयाँ रेकर्ड बनाएको र खासगरी लोकदोहोरीको क्षेत्रमा क्रियाशील सर्जक/कलाकारहरुमा नयाँ उत्साह थपेको प्रतिक्रिया समारोहका वक्ताहरुले बताएका छन् l यो समाचार लेखिरहँदा यो भिडियो युट्युबमा १ करोड ५८ लाख ७१ हजार ५ सय पटक हेरिएको छ भने एकैदिनमा १ लाखभन्दा केही हजार बाढीका दरले भ्युज बढिरहेको पाईएको छ l गीतकार नवराज पन्त, सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा र गीतकार प्रल्हाद सुवेदीको सामिप्यता – सहयात्राले नेपाली लोकदोहोरीको क्षेत्रमा पटक पटक इतिहास रच्दै आएको छ भने यस क्षेत्रलाई समृद्ध बनाउनमा पनि
उल्लेखित सर्जक-कलाकारहरुको अहम् योगदान रहँदै आएको छ l ‘डाँडै फुर्के सल्लो, मायालुको शहरमा मेरो गाउँमा घर छ, दाइने पिपल देब्रे वर सार, धौलागिरि हिमालको छाया कहाँ होला, पिरतीको खाममा’ लगायतका चर्चित गीतका सर्जक नवराज पन्तलाई हौसला र प्रेरणा दिने वसन्त थापा अनि पहिलोपटक चर्चामा ल्याउने आवाज कुलेन्द्र विश्वकर्माको सहकार्यले आज फेरि लोकदोहोरीको क्षेत्रमा नयाँ इतिहास बनाएको छ l कार्यक्रम गायक/सङ्गीतकार नरहरि प्रेमीले संचालन गरेका थिए l