सिक्किमका गायक तथा सङ्गीतकार आशा हाङ आङबो लिम्बू यतिबेला लिम्बू भाषामा एकल सङ्गीतको गीति एल्बम ‘लाम्दाक सेवारो’ को अन्तिम तयारी गरिरहेका छन् l एल्बम तयारीकै लागि सिक्किमबाट काठमाण्डौ आएका आशाको एकल सङ्गीतमा रहेको यस एल्बममा एकल-युगल स्वरका गीत रहने छन् l प्राप्त जानकारी अनुसार युगल गीतमा आशालाई मनु नेम्बाङ र सुनिता थेगिमले साथ दिएका छन् भने एकल स्वरका गीत आशा स्वयम्ले गाएका छन् l एल्बममा पालाम, लोक आधुनिक, गजल र क्लासिकल शैलीका गीत रहने कुरा गायक तथा सङ्गीतकार आशाले जानकारी गराएका छन् l उनका गीतको एरेन्ज अशोक लोहरुङ राई र थोमस राईले गरेका छन् l
सिक्किमका धेरै स्टेज कार्यक्रमहरुका आफ्नो गायन कौशलता प्रस्तुत गर्दै आएका आशा हाङ नृत्य र अभिनयमा समेत पारङ्गत छन् l स्थानीय क्षेत्रका लोकप्रिय कलाकार आशाले विगतमा ६ बर्षसम्म शास्त्रीय सङ्गीत सिकेका थिए l एल्बम तयार भएपछि केही गीतको भिडियो समेत निर्माण गरी औपचारिक रुपमै सार्वजनिक गर्ने योजनामा रहेका उनी नेपालबाटै संचालित कुनै राम्रो युट्युब च्यानलबाट भिडियोको प्रमोशन गर्ने तरखरमा छन् l