राष्ट्रिय नाचघर र अन्तरा साङ्गीतिक समूहको संयुक्त कलाकार टोली भारतको मेघालय, सिलोङमा नेपाली लोक गायन तथा साँस्कृतिक नृत्यको प्रस्तुति दिएर हालै काठमाण्डौ फर्किएको छ l गोरेटो सोसियो कल्चरल एण्ड वेलफेयर सोसाईटी मेघालय, सिलोङको निमन्त्रणामा अन्तरा साङ्गीतिक समूह र राष्ट्रिय नाचघरका ३२ जनाको कलाकार टोली सिलोङ पुगेको थियो भने कार्यक्रम नाचघरको सहकार्य र अन्तरा समूहको नेतृत्वमा सम्पन्न भएको हो l सो कार्यक्रम अन्तरदेशीय साँस्कृतिक आदानप्रदान अन्तर्गत आयोजना भएको कुरा अन्तरा साङ्गीतिक समूहका संयोजक अशोक राईले जानकारी गराएका छन् l
अशोक राईका अनुसार टोलीमा अन्तरा साङ्गीतिक समूहको तर्फबाट गायक-गायिका संजय तुम्रोक, साजन राई, दुर्गा परियार, राधा राई, श्रेयशी चेम्जोङ र अशोक स्वयम्, वाद्यवादकहरु शिला बहादुर मोक्तान, भरत नेपाली, भरत बुढाथोकी र पोषण घर्ती मगर टोलीमा संलग्न थिए भने नाचघरको तर्फबाट कृष्ण गुरुङ, खड्ग बुढा, सारदा सिलवाल, गीता थापा, माया थापा, सुशिला थापा, शबनम सिलवाल, रेशम पुन, छवि थापा, गोरख चौधरी, शिला विष्ट लगायतका कलाकारहरु गएका थिए l
अशोकका अनुसार नाचघरका कलाकारहरुले धिमे, कौरा, पश्चिमी झ्याउरे, हुड्केली लगायतका ७ वटा साँस्कृतिक नृत्यको प्रस्तुति दिएका थिए l यसैगरी अन्तरा समूहका कलाकारहरुले पालाम, साकेला, सेलो, मारुनी, पूर्वेली पन्चेबाजा, पूर्वेली झ्याउरे लगायतका लोकगीतहरु गाएका थिए l सिलोङको पोलो भन्ने ठाउँमा आयोजित सो कार्यक्रममा स्थानीय कलाकारहरुले पनि ५ वटा कल्चरल प्रस्तुति दिएका थिए भने ८ सय ८० सिट क्षमताको हलमा कैयौं दर्शक-श्रोताले उभिएरै पनि सहभागिता जनाएका थिए l यात्रा अत्यन्तै सुखद, शिक्षाप्रद र रोमान्चक भएको जानकारी गराउंदै अशोक भन्छन्- ‘काठमाण्डौदेखिकै आउने-जाने सबै व्यवस्थापन उतैको हो l कार्यक्रम सकिएको भोलिपल्ट सबैभन्दा बढी पानी पर्ने ठाउँ चेरापु
न्जीमा पिकनिकको आयोजना गरिएको थियो l झरनै झरनाको चेरापुन्जी साँच्चै मनमोहक रैछ l’ अशोकले आफ्नो पहिलो मेघालय यात्रा भएको बताउँदै यसअघि पनि त्यहाँ नेपाली कलाकारहरुद्वारा साङ्गीतिक कार्यक्रमको आयोजना हुने गरेको भएपनि यस प्रकारको कार्यक्रम पहिलोपटक भएको र यसलाई त्यहाँका मानिसहरुले अत्यन्तै मन पराएको जानकारी गराउंदै आगाडि भने -‘नेपाली कलाकारहरु संसार घुमिरहन्छन्, संसारैभरि उनीहरु लोकप्रिय पनि छन् l तर व्यक्तिगत रुपमा मात्र चिनिएका छन् l देशको प्रतिनिधित्व गर्ने हो भने, देशलाई पृथक ढंगले चिनाउने हो भने अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले दिने प्रस्तुति लोक तथा साँस्कृतिक नै हुनुपर्छ l’