युकेमा भुमरीको एकल सिर्जना साँझ सफल

लन्डन, जुलाई २७ तारिख, शुक्रबार साँझ राप्ती समाज, युकेद्वारा आयोजित लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीका सिर्जनाहरूको एकल सिर्जनाअन्तर्गत ‘भावेश भुमरी सिर्जना साँझ, युके’ ऐतिहासिक रूपले सफल भएको छ ।

भावेश नेपालबाट विभिन्न कार्यक्रमहरूको निम्तोमा युके आएका हुन् । भुमरीको युके बसाईंका क्रममा धेरै कार्यक्रम सकिँदै अनि थपिँदै पनि छन् । भुमरीलाई भ्याइनभ्याई भएको छ विभिन्न संस्थाका वार्षिक कार्यक्रमदेखि साहित्यका विभिन्न कार्यक्रम र एकल कार्यक्रमसम्म । विशेषतः भुमरीको जन्मभूमि राप्तीको प्यूठान भएकाले राप्ती समाज युकेले भुमरीलाई एकल सिर्जनामार्फत कार्यक्रममा उतारेको हो । एउटा कवि तथा गीतकार युकेमा आएर यसरी व्यस्त भएको यो नै पहिलो हो भन्दा कुनै अत्युक्ति हुँदैन । यसको कारण भुमरीको गीतिलेखन र एलबम प्रकाशनको उचाई नै हो । युकेमा भुमरीका गीतसङ्गीतका हज्जारौँ शुभचिन्तक छन् । कुनै चर्चित कलाकारभन्दा कम उचाई छैन भुमरीको युकेमा । यही कारण पनि भुमरी हर दिन व्यस्त बनेका छन् । मान्छे राख्न जान्ने इमान्दार, सरल र सिर्जनशील स्वभावका कारण पनि भुमरीलाई धेरैले मन पराएका हुन् । युकेका भुमरीलाई आफ्नै दाजुभाइ मानेका दिदीबहिनीको संख्या नै सयौँको छ भने उनका साथीभाइ त कति कति । यही कारण भुमरीले एकल सिर्जनाका माध्यमबाट फोक्सटोनको लेमन लिफको कार्यक्रममा ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

राप्ती समाजको कार्यक्रमलाई विशेष रूपले फोक्सटोन नेपाली समाज र मगर संघ केन्ट शाखाले सहयोग गरेर भावेशलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रकमको संयोजक हरि बुढामगरले भावेशको परिचय दिँदै राप्ती समाज युकेले त्यति सफल स्रष्टाको एकल कार्यक्रम गर्न पाउँदा आाफूलाई धेरै खुसी लागेको कुरा व्यक्त गरे । भावेशका सिर्जनालाई आफूले धेरै मन पराएको कुरा राख्दै बुढामगरले असल स्रष्टाका सिर्जनालाई माया गरेमा मात्र सिर्जनाले निरन्तरता पाउने कुरा पनि बताए ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै भुमरीले राष्ट्रिय भावका गीतहरू वाचन गरेर उपस्थित दर्शकहरूको मन जिते । त्यसपछि गायक गणेश पुनले भावेश भुमरीद्वारा रचित ‘माटोभरी जीवन भुल्छ’ र ‘धनका लागि परदेसिएँ’ दुई गीत गाएर दर्शकहरूलाई मन्त्रमुग्ध पारे । अर्को चरणमा भुमरीले जीवनवादी, विकृतिविसङ्गति, परदेश, संयोगान्त, वियोगान्त, निराशा, प्रयोग र प्यूठानका विषय बोकेका गीतहरू वाचन गरे । त्यसपछि गणेश पुनले भावेश भुमरीद्वारा रचित ‘मैले आफूलाई हराए’ँ र ‘मेरो छेउमा दिलको फूल कसले खसायो’ दुई गीत गाएर दर्शकहरूलाई निक्कै तताए । गीतमा दर्शकहरू ताली बजाएर निक्कै झुमे ।

दिनभरिको जागिर अनि टाढाको यात्रा र गाडी जामका कारण अलि ढिलो सुरु भएको कार्यक्रम रातको दश बजेपछिसम्म लम्बेको थियो तर पनि सबैले रमाइलो मानिरहेका थिए । लन्डन, केन्टवरी, मेडस्टोन र आसफोर्ड आदि टाढाका ठाउँहरूबाट आएका भावेशका प्रशंसकहरूले राती एघाह्र बजेसम्म कार्यक्रमस्थल छाडेका थिएनन् । भावेशले गीतकविता लेख्ने र प्राय आफ्ना सिर्जनामै रमाउने सामान्य व्यक्तिलाई युकेजस्तो देशमा बोलाएर न्यानो मञ्च र स्थान दिएको कुरा कहिल्यै भुल्न नसक्ने कुरा राखे । ‘भावेश इन द युके’ नामक ग्रुप फेसबुकका सदस्यहरूलाई धन्यवाद दिँदै एउटा लेखकलाई यतिका माया गरेकामा आभार पनि प्रकट गरे । त्यतिबेलै प्रसङ्ग बदल्दै भुमरीले उपस्थित दर्शकहरूलाई आफ्नो गीतको म्युजिक भिडियो देखाएर थप मनोरञ्जन दिने काम गरे ।

भुमरीले पर्दापछाडि रहेको आफूलाई स्रोता, दर्शक र प्रशंसकहरूले नै अगाडि ल्याएर सेलिब्रेटीसम्म बनाउने काम गरेकामा खुसी लागेको कुरा राखे । यस्तो काम आफूबाटै भएको भन्दै यसले भोलिका दिनमा एउटा ठूलै वहसको विषय बनाउने बाटो खोलेको कुरा पनि व्यक्त गरे । भुमरीले प्रस्तोताहरू मात्र मञ्चका भागेदार हुन् भन्ने मान्यतालाई तोड्दै वास्तविकताको खोजीमा अरू आयामहरू थपिने छन् र क्रमशः सबैको अधिकार स्थापित हुने छ भन्ने कुरा पनि राखे । राप्ती समाज युकेको ‘भावेश भुमरी सिर्जना साँझ’ले यस्तो कार्य सुरु मात्र गरेको छैन, भोलिका दिनमा कहीँ कतै हराइरहेका स्रष्ठाहरूलाई खोज्नका लागि एउटा उदाहरण बनाइदिएको छ भन्दै भुमरीले पाइलट सन्तोष रानाको विमान दुर्घटनाको प्रसङ्ग निकाले र उनैलाई लेखेको गीत बजाई दर्शकहरूलाई भावुक मात्र बनाएनन्, रुवाए पनि । कार्यक्रमको टिप्पणी गर्दै कवि विजय हितानले आफूलाई जानकारी भएसम्म युकेमा गीतकारको एकल सिर्जना साँझको कार्यक्रम भएको यो नै पहिलो हो भन्ने कुरा राखे । गीतकार भावेशको धेरै चर्चापरिचर्चा गरिनु, भावेशले आफ्ना कुराहरू राख्नु, रचनाहरू वाचन गर्नु, गीतकारकै गीतहरू गाइनु, म्युजिक भिडियो प्रदर्शन गरिनु अनि अडियो गीत सुनिनुजस्ता आयामले गीतकार भावेशको दायरालाई निक्कै फराकिलो बनाएको कुरा व्यक्त गरे । हितानले कुनै एउटा ठूलो कलाकारको कार्यक्रमभन्दा कैयौँ पक्षबाट माथिल्लो तहको भएको कुरा राख्दै यो कार्यक्रम भावेशको जीवनकै एउटा अविष्मरणीय कार्यक्रम भएको कुरा ठोकुवा गरे ।

कार्यक्रमका प्रमुख अतिथि फोक्टोन नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले भुमरीको कार्यक्रमबाट आफूले नयाँ कुरा सिकेको र भावेशजस्ता स्रष्टाको युके आगमनले बेल्पालीहरूलाई धेरै फाइदा पुगेको कुरा व्यक्त गरे । कार्यक्रमका सभापति, राप्ती समाज युकेका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार टीका ठकुरीले आफूले भावेशलाई धेरै ढिलो चिने पनि आउँदा दिनमा भावेशसँग धेरै नजिक भएर भावेशका सिर्जनालाई माया गर्ने कुरा व्यक्त गरे । ठकुरीले राप्तीले भावेशजस्ता राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रसम्म ख्यातिप्राप्त कवि तथा गीतकार जन्माएकामा गर्व लागेको कुरा राख्दै भुमरीलाई कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा मगर संघ युकेका उपाध्यक्षद्वय बम थापा सूर्यवंशीमगर र सीता पुन, महासचिव लालु पुन, गीतकार सङ्गीता वायुङ राई, गायक तथा सङ्गीतकार गङ्गा थापा, कलाकार प्रकाश रानालगायतका धेरै व्यक्तिहरूको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन कवि करिष्मा घमले गरेकी थिइन् ।

– मञ्जु मौसमी