बाँसुरी र सहनाईमा गुन्जिए धन बहादुर

बाँसुरी एवं सहनाईवादक धनबहादुर गुरुङ राष्ट्रिय नाचघर जमलमा एकल प्रस्तुति सहित गुन्जिए । उनले शास्त्रीय संगीतका धूनहरुमा आफ्नो प्रस्तुति दिएका हुन् । करिब ३ घन्टा लामो सो कार्यक्रम सांस्कृतिक संस्थानले आयोजना गरेको थियो । प्रत्येक महिनाको दोस्रो विहिबार आयोजना हुँदै आएको वाद्यबन्दना कार्यक्रममा गुरुङले आफ्नो प्रस्तुति दिएका हुन् ।

कार्यक्रममा बाँसुरी एवं सहनाइवादक धनबहादुर गुरुङलाई तमु कलाकार संघले हजारको नोटबाट बनाईको माला र गुरुङको पहिचान फेटा र घलेक लगाएर सम्मान पनि गरेको थियो । संघका अध्यक्ष राजु गुरुङ सहितको कार्यसमितिको टोलीले उनलाई सम्मान गरेको थियो ।

कार्यक्रममा धनबहादुरले आफ्ना विद्यार्थीहरुको साथमा समेत प्रस्तुति दिएका थिए भने गुरुङ कलाकारको साथमा कौडा धूनलाई खैंचडी र बाँसुरीमा प्रस्तुत गर्दै कार्यक्रम समापन गरिएको थियो ।

– सुमन बैरागी