नेपाल लोक स्टारमा प्रथम हुनेलाई रु. ५० लाख

भर्खरै पाँचतारे होटल अन्नपूर्णमा ‘नेपाल म्युजिक अवार्ड’ सम्पन्न गरेको चाहना मिडिया प्रा. लि. ले निकट भविष्यमा ‘नेपाल लोक स्टार’ नामक बृहत् ‘रियालिटी शो’ को आयोजना गर्ने भएको छ l लोक गायनलाई लक्षित गरी आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपालमा भएका सबै भाषा र संस्कृतिका लोक गायक-गायिकाहरुले प्रतिस्पर्धामा भाग लिन पाउने कुरा चाहना मिडियाका अध्यक्ष सहदेव कोईरालाले जानकारी गराएका छन् l उनका अनुसार आगामी तीजको लगत्तै अडिशनको लागि फारम खुला गरिने छ l फारम रु. १ हजार शुल्क तिरेर अनलाइन मार्फत या ७७ वटै जिल्लामा स्थापना गरिने अस्थाई कार्यालय मार्फत भर्न सकिने छ l जिल्ला अडिशनमा स्थानीय विज्ञहरुलाई निर्णायक बनाइने छ  भने त्यसपछिको प्रदेश अडिशनमा केन्द्रका जजहरुको समेत सहभागिता रहने छ l जिल्लाबाट १०-१० जनाको दरले र त्यसपछि प्रदेशबाट पनि १०-१० जनाको दरले सर्वोत्कृष्ट प्रतिस्पर्धीहरुको छनोट गरी ७० जनालाई केन्द्रमा ल्याईने छ l
लगभग १२ देखि १५ करोड सम्मको खर्च अनुमान गरिएको यस प्रतिस्पर्धाका प्रथम, द्वितीय र तृतीय विजेताले जिन्सी उपहारहरुको साथमा क्रमशः नगद रु. ५० लाख, रु.२५ लाख र रु. १० लाख प्राप्त गर्ने कुरा समेत सहदेव कोईरालाले जानकारी गराएका छन् l