विविधताको संगालो ‘कादम्बरी कुञ्ज’

कादम्बरी दाना श्रेष्ठको एकल शब्दरचना, शंकर थापा ‘स्माईल’ को एकल सङ्गीत र उदयराज पौडेलको एकल सङ्गीत संयोजन रहेको गीति एल्बम ‘कादम्बरी कुञ्ज’ बागबजारस्थित हेल्लो क्याफेमा आयोजित एक औपचारिक समारोहमा सार्वजनिक भएको छ l ८० बर्षीय अग्रज गीतकार डा. रामविक्रम सिजापतीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा वरिष्ठ सङ्गीतकार दीपक जंगम, सङ्गीतकार राजु सिंह र सङ्गीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर, अमेरिका एनआरएनए अध्यक्ष राजा घले लगायतको उपस्थिति रहेको थियो l समारोहमा गीतकार कादम्बरीले अतिथिहरुको स्वागत गरेकी थिईन् भने एल्बमका तयारीका घटनाक्रम तथा गीतकारका बारेमा आफ्ना कुराहरु राख्दै सङ्गीतकार/गायक शंकर थापा ‘स्माईल’ ले यो कादम्बरीको दोस्रो एल्बम भएको कुरा समारोहलाई जानकारी गराएका थिए l उनले भने-‘यसअघि मनराजा नकर्मीको एकल सङ्गीत र मिलन अमात्यको एकल स्वरमा गीतकार कादम्बरीको पहिलो एल्बम बजारमा आएको थियो l’
‘कादम्बरी कुञ्ज’ गीति एल्बममा ‘तिमीबिना सृष्टि अधुरो थियो आमा, मेरो सारा खुशी तिम्रो भागमा परोस्, लैजाऊ लैजाऊ न मलाई, नचिनेको मान्छेले आज नयनको तीर चलायो र झुमझुम बनायो’ बोलका ५ वटा गीत सङ्ग्रह गरिएका छन् l जसमध्ये ‘नचिनेको मान्छे’ बोलको एउटा गीत महिला-पुरुष भर्सनमा भएकोले गीत प्रस्तुति संख्या ६ रहेको छ l एल्बममा मिलन अमात्य, सागर आले, मेलिना राई, सन्ध्या जोशी, आयुष के. सी., सरिता शाही र शंकर थापा ‘स्माईल’ का स्वर सुन्न सकिन्छ l एल्बम डश म्युजिकबाट सार्वजनिक भएको हो l

समारोहमा एल्बमको समीक्षाका लागि उद्घोष गरिएका वरिष्ठ सङ्गीतकार दीपक जंगमले एकैछिन सुनेकै भरमा कुनैपनि गीतलाई यस्तो भएन, उस्तो भएन, यसो गरेको भए हुन्थ्यो भनेर टिप्पणी गर्ने पक्षमा आफू नभएको प्रष्ट पारेका थिए l उनले अगाडि भने- ‘बर्षौंको साधना र मेहेनतबाट गीतको सिर्जना भएको हुन्छ l १-२ पटक सुनेकै भरमा कमी कमजोरी कसरी औंल्याउने ? लोकार्पण भईसकेपछि यो लोकको हुन्छ, स्रोताको हुन्छ l म त बधाई र शुभकामना मात्र दिन सक्छु l यदि टिप्पणी नै गर्नु छ भने कमसेकम २०-२५ चोटी सुन्नै पर्छ l’ सङ्गीतकार ‘स्माईल’ लाई आफूले विशेषगरी फाष्ट गीतका गायक/सङ्गीतकारका रुपमा मात्र चिनेको तर यो एल्बमका मेलोडियस गीत सुनेर छक्कै परेको प्रतिक्रिया सङ्गीतकार जंगमले दिए l ‘यस एल्बममा मन छुने र समय सापेक्ष गीतहरु छन्’ उनले भने l  समारोहमा सूर्य मगरले अब उद्योगीले मात्र हैन जुनसुकै पेशा-व्यवसायमा आवद्ध भएर सङ्गीतमा लगानी गर्ने सर्जक/कलाकारले पनि परिवर्तित अवस्थामा व्यापार कसरी र कहाँ कहाँ भईरहेको छ भनेर भुझ्नुपर्ने धारणा राखेका थिए l उनले अगाडि भने-‘ एउटा मात्र गीतमा लगानी गर्ने मान्छे पनि म्युजिक प्रोड्युसर हुन् l’
विमोचन कार्यक्रममा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई आमा सरस्वती श्रेष्ठको हातबाट नगद रु. २१ हजार समेत सहयोग गरेकी थिईन् l बुबाको प्रेरणाले गर्दा गीत लेख्न थालेको बताउंदै उनले भनिन् -‘म जानी नजानी लेख्थें, बुबाले सिकाउनुहुन्थ्यो, करेक्शन गरिदिनुहुन्थ्यो l’ दिवंगत छोराको सम्झनामा पनि आफूले धेरै गीत रचना गरेको कुरा बताउँदा बताउँदै कादम्बरी समारोहमै भक्कानिएकी थिईन् l
फाष्ट गीतको सङ्गीत तथा गायनका लागि आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल शंकर थापा ‘स्माईल’ ले यस एल्बम मार्फत आफू ‘भर्सटाईल’ भएको बलियो प्रमाण पेश गरेका छन् l सुन्दर र विविधतापूर्ण शब्दरचना अनि शब्दपरक सङ्गीत र गायनका कारण प्रस्तुत एल्बमले सङ्गीतको बजारमा राम्रो पहिचान स्थापित गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ l