— गीता अधिकारी
आमाको माया नपाएको मान्छेको मनमा आमाप्रति कस्ता–कस्ता भावनाहरू आउँछन् होला ? गीतकार हरि मञ्जुश्रीले त्यस्तै भावनाहरू पोखेर मार्मिक गीत लेखेका छन् । आमाको माया नपाउँदाको गुनासो गीतमा पोखिएको छ । ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ गीतको बोल छ । उनको त्यो गीत असाध्यै भावुक छ । त्यो गीत बी क्रिएसन इन्टरनेसनलले आफ्नो यु–ट्युब च्यानलबाट साङ्गीतिक बजारमा ल्याइसकेको छ ।
गीतको शब्दलाई सङ्गीत र स्वरले न्याय दिएका छन् । त्यसैले गीत सुन्दा एकदमै मीठो लाग्छ । गीतको भाव अनुसार चित्रहरूको संयोजनचाहिँ त्यति मीठो हुन नसकेको हो कि जस्तो अनुभूति पनि हुन्छ । तर त्यो गीत नेपालको साङ्गीतिक क्षेत्रमा प्रस्तुत गरिएको उत्कृष्ट र बेग्लै किसिमको मिठास भएको गीत हो भन्ने कुरामा कुनै शङ्का छैन ।













