सर्जक डा. डी.आर. उपाध्यायको नयाँ भजन ‘श्रीराम भजन’को भिडिओ सार्वजनिक

सुप्रसिद्ध सर्जक डा. डी.आर. उपाध्यायको नयाँ भजन ‘श्रीराम भजन’को भिडिओ सार्वजनिक भएको छ ।  DR Music & Creations युट्युब च्यानलबाट आजै भिडिओ डिजिटल बजारमा आएको हो। गीत तथा कविता रचना, सङ्गीत सिर्जना, गायन, अभिनय, उपन्यास लेखन लगायत कला- साहित्यका विविध विधामा क्रियाशील रहँदै आउनुभएका बहुआयामिक सर्जक डा. उपाध्यायद्वारा रचित यस भजनमा स्वर पनि डा. उपाध्यायकै रहेको छ । सागर अधिकारी ‘शरद’ को सङ्गीत, सञ्जय श्रीपालको म्युजिक एरेन्ज, कुमार के.सी. को रेकर्डिङ/मिक्सिङ/माष्टरिङ रहेको यो गीत अनामनगरस्थित फिल स्टुडियोमा रेकर्ड भएको हो ।

खेमनाथ खनालद्वारा निर्देशित यस म्युजिक भिडिओमा सर्जक डी. आर. उपाध्याय, सुनिता खनाल र तुलसी खड्का लगायत दर्जन बढी कलाकारहरुले अभिनय गरेका छन् । भिडिओमा रामशरण उप्रेतीको सिनेमाटोग्राफी र सञ्जय अधिकारीको सम्पादन रहेको छ  । केही दिन अघि मात्र डा. उपाध्यायको कृष्ण भजन ‘हरे कृष्ण’ को भिडिओ सार्वजनिक भएको थियो ।

गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय डा. उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन् । ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’, ‘माउण्टेन मेलोडी’, ‘परिष्कृत’, ‘कृति’, ‘पृथक’, ‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’, ‘अनुभूतिको मझेरीमा’, ‘चाहनाको महल’, ‘कर्तव्य बोध’, ‘धरोहर’, ‘हृदयको झंकार’, ‘धर्ती र जीवन’, ‘प्रतिभा’, ‘सपनाको महल’, ‘धड्कन’, ‘आकांक्षा’, ‘अभिभूत’, ‘अभिलाषा’, ‘आवृत’ लगायतका उहाँका ३७ एल्बमका १५० भन्दा गीतका भिडियो सार्वजनिक छन् ।

गीत-संगीतसँगै पुस्तक लेखनमा समेत प्रयोग गर्दै आउनुभएका उपाध्यायका सिर्जनामा आकार, संरचना र विषयवस्तुका दृष्टिले समेत विविधता पाइन्छ । उहाँले २ बाई २ इन्च आकारको गीत पुस्तक ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’, व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’, २४ बाई ३६ इन्च आकारको ठूलो गीत पुस्तक ‘अलौकिक’ तथा एक लाइन अंग्रेजी र अर्को लाइन नेपालीमा प्रस्तुत गरिएको गीति पुस्तक ‘अपरिमित’ पाठकमाझ ल्याउनुभएको छ ।

उपन्यास विधामा पनि उहाँको सक्रियता उल्लेखनीय छ । उहाँका ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसूर’, ‘मझधार’ र ‘आशक्ति’लगायत उपन्यास प्रकाशित भइसकेका छन् । केही समयअघि उहाँको कवितासंग्रह ‘अन्तसंस्करण’ सार्वजनिक भएको थियो ।

डा. उपाध्यायले सिर्जनात्मक कर्ममार्फत विभिन्न विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले गिनिज बुक अफ वर्ल्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन यूकेलगायत विभिन्न संस्थाबाट १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गर्नुभएको छ । एभरेस्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड तथा ब्रिटिश वर्ल्ड रेकर्डलगायत संस्थाबाट समेत उहाँले रेकर्ड प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

उहाँका कीर्तिमान सिर्जनात्मक प्रयोगसँग सम्बन्धित छन् । महिला तथा पुरुषले एकअर्काप्रति गर्नुपर्ने माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहारबारे एक-एक लाइनका सामाजिक सन्देश समेटिएको २८८ लाइनको गीत, सांकेतिक भाषाको गीत, तीनवटा सप्तकमा तयार गरिएको गीत तथा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको नाम समेटिएको गीत उहाँका सिर्जनात्मक प्रयोगमध्ये पर्छन् ।

त्यसैगरी १५० भन्दा बढी देशका पर्यटनस्थलका नाम समेटेर गीत तयार गर्ने, १८ अक्षरको छोटो गीत-संगीत तयार गर्ने तथा एउटै दिन चारवटा गीत लेखेर रेकर्ड गरी सार्वजनिक गर्ने लगायतका कीर्तिमान पनि डा. उपाध्याको नाममा छन् ।

गीतकारका रूपमा समेत विभिन्न सम्मान प्राप्त गर्नुभएका उपाध्याय ‘हिरो २०१९’बाट सम्मानित हुनुभएको थियो । गीतकार संघ नेपालको नवौं वार्षिकोत्सवका अवसरमा उहाँलाई ‘वर्ष गीत पुरस्कार’ प्रदान गरिएको थियो । उहाँलाई मुम्बईको दादा साहेब फाल्के अवार्डबाट समेत सम्मान गरिएको छ ।

उपाध्यायका सिर्जनामा विषयगत विविधता देखिन्छ । प्रेम, माया, रोमान्स र विछोडसँगै समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनाका विषय उहाँका गीतमा समेटिएका छन् । विभिन्न वर्ग, पेसा र समुदायका भावना तथा समस्यालाई गीतमार्फत अभिव्यक्त गर्ने प्रयास उहाँले गर्दै आउनुभएको छ ।