नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ । शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र दोङ खम्बे, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई लव्ली तथा चलचित्रकर्मी पुकार भट्टराई एवं लव प्याकुरेलको उपस्थिति थियो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको संघले जनाएको छ । संघका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार संघको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै संघले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रुपमा पूरा गर्दै आएको बताउनुभयो । कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको उहाँको भनाइ थियो ।
संघका अनुसार भाद्र २३ गते जेन–जी शहीद दिवस तथा नेपाल चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान र राहत स्वरुप संकलित रकम हस्तान्तरण गरिएको हो ।













