गीत-सङ्गीतका बहुआयामिक महारथि अशोक लोहरुङ राई

-तुलसी गिरी ‘भावुक’

नेपाली सङ्गीत क्षेत्रका व्यावसायिक रुपमा सफल होनहार सङ्गीतकर्मीहरुको नाम लिनुपर्दा अशोक कुमार राईको नाम अग्र लहरमा आउने गर्दछ l सङ्गीत सिर्जना, वाद्यवादन, गायन र सङ्गीत संयोजन जस्ता सबैजसो प्रमुख विधामा उत्तिकै सिद्धहस्त सर्जक/कलाकार अशोक लगभग ४ दशक लामो समयदेखि यस क्षेत्रमा क्रियाशील रहँदै आएका सङ्गीतकर्मी हुन् l

पिता गणेश बहादुर राई र माता विद्यादेवी राईको परिवारमा आजभन्दा ५६ वर्ष अघि जेठो सन्तानको रुपमा यस धर्तीमा आएका अशोक पछि परिवारमा २ भाइ र १ बहिनीको पनि जन्म भएको थियो l आफ्नै बुबा आमाले अध्यापन गराउने स्थानीय सरस्वती माध्यमिक विद्यालय, हाङ्पाङबाट प्राथमिक शिक्षा अध्ययन सुरु गरेका उनले सो विद्यालयमा ४ कक्षासम्म मात्र पढे l त्यसपछि ५ र ६ फुङ्लिङस्थित भानु माध्यमिक विद्यालयबाट र ७ देखि १० सम्मको पढाई चितवनको झुवानी माध्यमिक विद्यालयबाट पूरा गरेका अशोक पढाईमा मध्यम विद्यार्थी थिए l अतिरिक्त क्रियाकलापमा औधी रुची राख्ने उनी युवा उमेरदेखि नै फुटबलका राम्रो प्लेयर थिए भने नाच्न, गाउन र बाजा बजाउनका शोखिन थिए उनी l स्कूलको वार्षिकोत्सवमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा उनी आफ्नो प्रस्तुति दिन कहिल्यै छुटाउँदैन थिए l सरस्वती माध्यमिक विद्यालयका हेड माष्टर बुबा गणेश बहादुर सङ्गीत, कला र साहित्यका पारखी हुनुभएकोले पनि सानै उमेरदेखि सङ्गीतप्रति पारिवारिक वातावरण उनका लागि स्वाभाविकै रुपमा अनुकूल र प्रेरणादायी थियो l बुबा स्थानीय क्षेत्रका राम्रो फुटबल प्लेयर पनि हुनुहुन्थ्यो l ‘बाजे इन्डियन आर्मी हुनुहुन्थ्यो l त्यसैले बुबाको पढाई इन्डियामै भएको थियो l उहाँले देहरादुनबाट ग्रयाजुएशन गर्नुभएको हो’ अशोकले आफ्नो पारिवारिक पृष्ठभूमि बारे थप प्रकाश पार्दै भने l

‘म सानैदेखि गितार बजाउँथें l सिकाउने गुरुहरु नै त थिएनन्, तर अलिअलि जानेका साथीभाइहरुले सिकाउँथे l मेरा मामलीहरु पनि म्युजिसियन हुनुहुन्थ्यो l ताप्लेजुङ मामला जाँदा त्यहाँ पनि सिक्ने गर्थें’उनले विगतका ती दिनहरु सम्झँदै भने l

जन्मथलो ताप्लेजुङ र चितवन हुँदै जानी नजानी हुर्कंदै गरेको उनी भित्रको साङ्गीतिक शिल्प र सिजशीलतामा २०४५ सालमा एसएलसी पास गरेर काठमाण्डौ आएपछि भने बिस्तारै नयाँ मोड आएको थियो l काठमाण्डौ आउनासाथ सुरुमा पिपुल्स क्याम्पसमा भर्ना भएका अशोकले क्याम्पसले आयोजना गरेको कन्सर्ट ‘पिपुल्स नाइट’ मा सहभागिता जनाएपछि उनको जीवनमा साङ्गीतिक ’यु टर्न’ आएको थियो l कन्सर्ट हेर्न आएका राजनीतिक व्यक्तित्व कृष्ण राईले उनको प्रस्तुतिको प्रशंसा गर्दै ललितकला पढ्ने सल्लाह दिएपछि पिपुल्सको पढाईलाई त्यहीँ बिट मारेर उनी ललितकला क्याम्पस भर्ना हुन पुगेका थिए l त्यहीँबाट सुरु हुन्छ उनको वास्तविक सङ्गीतको यात्रा र सङ्घर्षको कथा l ‘सङ्गीतको पढाई हुने कलेज पनि छ भन्ने मलाई थाहा नै थिएन l त्यो दिन मैले कन्सर्टमा भाग नलिएको भए, कृष्ण राई कन्सर्ट हेर्न नआउनुभएको भए वा उहाँले मलाई केही नभन्नुभएको भए मेरो सङ्गीत यात्राको कथा अलि फरक ढङ्गको हुन्थ्यो होला’ अशोकले कृष्ण राईप्रति कृतज्ञता प्रकट गर्दै भने l

४० देखि ६० को दशकतिर काठमाण्डौका अधिकाश रेष्टुरेन्टहरुमा रात्रीकालिन गीत-गजल फष्टाएको थियो l रेष्टुरेन्टहरुले कलाकारको जम्बो टोली नै राखेर लाइभ म्युजिकमा आफ्ना ग्राहकलाई गीत सुनाउने गर्दथे l सङ्गीत क्षेत्रमा नाम चलेका र स्थापित दोस्रो पुस्ताका धेरैजसो गायक/गायिका र वाद्यवादकहरु मध्ये रात्रीकालिन रेष्टुरेन्टमा काम नगरेका विरलै होलान् l त्यो बेला न त अहिलेको जस्तो विश्वव्यापी डिजिटल प्रविधि थियो, न त धेरै व्यावसायिक अवसरहरु थिए l रात्रीकालिन गीत-गजल रेष्टुरेन्टहरुले धेरै सङ्गीतकर्मीहरुको काठमाण्डौ बसाईलाई सहज मात्र बनाएका थिएनन्, निरन्तर अभ्यासको एउटा अप्रत्यक्ष पाठशालाको काम पनि गरेका थिए l ललितकला पढ्दै, रात्रीकालिन रेष्टुरेन्टहरुमा गितार बजाउँदै अनि विभिन्न स्कूलहरुमा सङ्गीत प्रशिक्षकको रुपमा काम गर्दै अथक मेहेनतबाट माझिदै, खारिंदै आजको अवस्थासम्म आईपुगेका अशोक सफलताको यो उचाईमा सहजै पुगेका भने होईनन् l जसको पछाडि साधना, सङ्घर्ष, हर्ष र पीडाका कैयौं कथाहरु छन् l

ललितकलाबाट सङ्गीतमा आईए पूरा गरेका अशोकले साधना कला केन्द्रमा न्ह्यु बज्राचार्यसंग गितारको तीन महिने तालिम र शिला बहादुर मोक्तानसंग करिव ३ वर्ष शास्त्रीय सङ्गीत सिकेका छन् l गीतार, किबोर्ड र हार्मोनियमका कुशल वादक बहुआयामिक अशोकले स्वअभ्यासबाट नै  महारथ हासिल गरेका हुन् l

२०५२ सालमा आफ्नै स्वामित्वको रेकर्डिङ स्टुडियो खोलेपछि अशोकको व्यावसायिक यात्रामा नयाँ अध्याय सुरु भएको हो l स्टुडियो खोलेपछि त्यही साल पहिलोपटक पारस मुकारुङ, शिव संगम राई लगायतका कलाकारहरुको स्वरमा आफ्नै म्युजिक एरेन्जमा लोकगीत रेकर्ड गरेका उनले २०५६ मा आफ्नो सङ्गीतमा पहिलो गीत ‘घाम डुबेपछि’ रेकर्ड गरेका थिए l त्यसपछि स्टुडियोको प्राविधिक, सङ्गीत संयोजक र सङ्गीतकारका रुपमा उनले आफ्नो सङ्गीतकर्मलाई समानान्तर ढङ्गमा अगाडि बढाउँदै लगे l उनको सङ्गीतमा प्रसिद्ध गायक राजेशपायल राईले गएको गीत ‘बल्ल भेट भो आङ्देम्बे’ ले उनलाई सङ्गीतकारको रुपमा एकाएक चर्चामा ल्याएको थियो l यसैगरी अर्की लोकप्रिय गायिका लोचन भट्टराईले गएको सेलो शैलीको गीत ‘लेखमा जाने साइँला दाइ’ पनि त्यत्तिकै चर्चामा आयो l खासगरि यो गीत स्कूलका सांस्कृतिक कार्यक्रमहरुमा अत्याधिक प्रयोग हुन थालेपछि उनको लोकप्रियतामा ‘चार चाँद’ लाग्दै गयो l पछिल्लो समय उनको आफ्नै शव्द/सङ्गीतमा रहेको राष्ट्रिय भावको गीत ‘पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई’ ले पनि सङ्गीत बजारमा धेरै राम्रो चर्चा पाएको छ। निरन्तरको मेहेनत, सङ्गीतप्रतिको लगाव र समर्पण भावले गर्दा उनी व्यावसायिक रुपमा एक सफल सङ्गीतकर्मीको रुपमा स्थापित भए l फलस्वरूप उनको सङ्गीतमा करिव १ हजार र सङ्गीत संयोजनमा करिव ४ हजार गीत रेकर्ड भएका छन् भने २५० भन्दा माथि स्टेज कार्यक्रमहरुमा उनले प्रस्तुति दिएका छन् l

गीत, सङ्गीत क्षेत्रका प्रमुख विधाहरु मध्ये वाद्यवादन, सङ्गीत संयोजन, सङ्गीत, रेकर्डिङ-मिक्सिङ र माष्टरिङ जस्ता विधामा उत्तिकै पोख्त अशोक कुमार राई नेपाली सङ्गीत क्षेत्रका थोरै अब्बल सङ्गीतकर्मीहरु मध्येका एक हुन् l धेरै काम गर्नु वा धेरै विधामा हात हाल्नु एउटा कुरा हो भने हात हालेका सबै विधामा पारङ्गत हुनु अर्को कुरा हो l अशोक आफ्ना सबै विधामा २० मा २० उत्कृष्ट सर्जक हुन् l

अशोकको सङ्गीतमा हालसम्म बतासेको घुम्तीमा (२०५५), मन पो दुख्यो कि (२०५५), रहर (२०५६), यात्रा आरम्भ (२०६०), आयाम (२०६२), देउसी भैलो गीत (२०६४), यो जिन्दगी (२०६५), परिवर्तनका स्वरहरु (२०६५), आमा (२०६८), अनौठो यात्रा (२०६८), समानताका स्वरहरु (२०६८), साम्लो (लिम्बू भाषा-२०६८), अलिखित हस्ताक्षर (२०७०), देउसी भैलो गीत (२०७१), पाथीभरा माता (भजन-२०७१), भूकम्प पछि (जनजागरण गीत-२०७२), सेवारो (लिम्बू भाषा-२०७५) र सुखी नेपाल समृद्ध नेपाली (२०७७) गरि १८ वटा गीति एल्बम प्रकाशित छन् l

यसैगरि उनले मासेमी (लिम्बू भाषा-२०५५), शस्त्र (२०६२), छिमेकी (२०६४), चेसुङ (२०६५), जवाफ (२०६५), पल्टन (२०६८), केसाङ्ला (लिम्बू भाषा-२०७५) र सुगुप जस्ता चलचित्रमा सङ्गीत दिएका छन् भने मिक्ल्नेनफुङ, सेमी फुङ  घरजम र लोजिमा (लिम्बू भाषा) जस्ता चलचित्रमा पार्श्व सङ्गीतको काम सम्पन्न गरेका छन् l दुर्लभ प्रतिभा र क्षमताका धनी अशोकले विगतमा विभिन्न ७ वटा विद्यालयमा सङ्गीत प्रशिक्षकको रुपमा समेत सेवा दिएका छन् l ‘आशा’, ‘अम्लारिफुङ’ र ‘नेपालगाथा’ शीर्षकका ३ गीति नाटकमा सङ्गीत निर्देशन एवं संयोजन गरिसकेका अशोकले एकल साँझ र सांस्कृतिक कार्यक्रम गरि २९ वटा साङ्गीतिक कार्यक्रमहरुमा सङ्गीत संयोजकको गहन जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् भने हिमाली साँझ, देउसी साँझ, परिवर्तनका स्वरहरु (२ पटक), अन्तरा सिक्किम साँझ, वेस्मालाङ्योक (२ पटक), अन्तरा नववर्ष शुभकामना साँझ र अन्तरा सुनसरी साँझ गरि उनका सङ्गीतमा रेकर्ड भएका गीतहरुको प्रस्तुति ‘एकल सङ्गीत साँझ’ विभिन्न मितिमा ९ पटक सम्पन्न भैसकेका छन् l वाद्यवादनमा समेत उच्च दख्खल राख्ने अशोकले कोरस साँझ, नर्सिङ नाइट, श्रमिक सांस्कृतिक अभियान, अम्बर गुरुङ साँझ र गणेश रसिक साँझ जस्ता सांस्कृतिक कार्यक्रमहरुमा वाद्यवादकको रुपमा आफ्नो  प्रस्तुति दिएका छन् l उनले विभिन्न प्रतियोगिताहरुमा निर्णायकको गहन जिम्मेवारी समेत पूरा गरेका छन् l गीत-सङ्गीत क्षेत्रमा यति धेरै फरक फरक इतिहास बनाएका सङ्गीतकर्मी विरलै होलान् l

भिन्न भिन्न समयमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा परिषद् सदस्य र प्राज्ञसभा सदस्य भएर उत्कृष्ट कार्यकुशलता सहित कार्यकाल पूरा गरेका अशोकले कोरस परिवार, राष्ट्रिय जनसांस्कृतिक मञ्च, राष्ट्रिय जनसङ्गीत मञ्च, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, जन सांस्कृतिक प्रतिष्ठान, नेपाल साङ्गीतिक सङ्घ, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, गीतकार सङ्घ, सङ्गीतकार सङ्घ लगायत लगभग २ दर्जन सङ्घ-संस्थाहरुमा विभाग प्रमुख, सल्लाहकार, सचिवालय सदस्य, केन्द्रीय कमिटी सदस्य, आजीवन सदस्य र कार्यसमितिका विभिन्न पदमा रहेर नेत्तृत्वदायी भूमिकामा पनि आफूलाई अब्बल सावित गरेका छन् l

सङ्गीतकर्मकै सिलसिलामा ओमान, भारत, हङकङ र चीन जस्ता अन्तर्राष्ट्रिय मुलुकहरुको भ्रमण गरिसकेका अशोक झन्डै ४ दशक लामो सङ्गीतयात्राका क्रममा किरात याक्थुङ चुम्लुङ हङकङ (२ पटक), हाङपाङ सेवा समाज काठमाण्डौ, ताप्लेजुङ सम्पर्क मञ्च काठमाण्डौ, किरात याक्थुङ चुम्लुङ नेपाल, नेपाल लोकतान्त्रिक तोक्पेगोला सङ्घ, प्रवासी नेपाली मञ्च ओमान, श्रमिक साँझ, ताप्लेजुङ काठमाण्डौ सम्पर्क मञ्च र नेपाली चलचित्र सायाबुङ (शिरफूल) जस्ता सङ्घसंस्थाहरुबाट अभिनन्दित एवं सम्मानित भएका छन् भने ललितकला क्याम्पस भोटाहिटी, नेपाल सरकार संस्कृति मन्त्रालय, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, एफएलएफ अवार्ड, युगपुरुष रविकर्ण राङ्कासु दुमी स्मृति प्रतिष्ठान र किरात राई सांस्कृतिक कलाकार सङ्घबाट विभिन्न मितिमा पुरस्कृत भएका छन् l नेपाली मौलिक बाजा र मौलिक धुनको संवर्द्धन/ प्रवर्द्धन गर्ने उद्देश्यका साथ करिव ६-७ वर्ष अघि अशोकको संयोजनमा स्थापित अन्तरा साङ्गीतिक समूहले विभिन्न स्थानहरुमा नेपाली मौलिक धुनहरूको अर्केष्ट्रा प्रस्तुत गर्दै आएको छ l समूहले हालसम्म गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा  ‘गण्डकीका धुनहरु’, सिस्नोपानी नेपालको आयोजनामा काठमाण्डौमा ‘नेपाली मौलिक धुनहरु’, बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा काठमाण्डौमा ‘माटोको धुन’ र सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाण्डौमा ‘सारङ्गीको देश’ टाइटलमा मौलिक अर्केष्ट्रा धुनहरु प्रस्तुत गरिसकेको छ l यसैगरि समूहले राष्ट्रिय नाचघरको ५० औं वार्षिकोत्सवको अवसरमा ५० भन्दा बढी वाद्यवादकहरुद्वारा मौलिक नेपाली बाजाको मौलिक धुनको ऐतिहासिक प्रस्तुति समेत दिईसकेको छ l समूहका संयोजक अशोक भन्छन्- ‘हामीले मौलिक नेपाली बाजाहरुको मात्रै अर्केष्ट्रा प्रस्तुत गर्दै आईरहेका छौं  l’

अशोक आज आफ्नो कर्म क्षेत्रको जुन उचाईमा छन्, त्यसको श्रेय सुख-दु:खका घामपानीहरुमा साथ दिने, साधना र सिर्जनाका लागि अनुकूल पारिवारिक वातावरण कायम राख्ने धर्मपत्नी डोमा लामा राईलाई पनि जान्छ l थोरै बोल्ने र शान्त स्वभावका उनी छोरी सयला र छोरा सौहार्दका असल पिता पनि हुन् l काम धेरै चर्चा कम भएका अशोक कुमार राई नि:सन्देह समग्र नेपाली सङ्गीत क्षेत्रका एक महारथ हासिल गरेका गिनेचुने सङ्गीतकर्मी हुन् l