-सानु श्रेष्ठ
नारी पर्व नजिकिँदै गर्दा नेपाली मौलिक तिज संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित लोकप्रिय गायिका उषा मलाहा ‘सिम्रन’को नयाँ तिज गीत ‘चट्टै परेर’ को भिडिओ सार्वजनिक गरिएको छ । भिडिओ गायिकाको आधिकारिक युट्युब च्यानल Usha Malaha मार्फत सार्वजनिक गरिएको हो ।
आधुनिकताको प्रभावसँगै मौलिक तिज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको आजको अवस्थामा सार्वजनिक गरिएको यस भिडिओले तिजको वास्तविक भावना, माइतीको माया, साथी सङ्गीको सम्झना तथा यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
शब्द डीपी खनाल, सङ्गीत देवेन्द्र बराल, म्युजिक एरेन्ज विश्व अधिकारी, मिक्स/मास्टरिङ्ग किशोर थापा, रेकर्डिङ सुवास सेन्चुरी (एसएम स्टुडियो, अमेरिका), छायाङ्कन दिनेश पराजुली र सम्पादन विवेक सुनारको रहेको यस गीत तथा भिडिओमा नेपाली समाजको मौलिक संस्कृति र तिजको महत्वलाई ठेट नेपाली शब्द तथा भावनामार्फत प्रस्तुत गरिएको छ । सुनिशा बजगाईं, सुशीला थापा लगायतको अभिनय रहेको यस भिडिओका कोरियोग्राफी रोशन विश्वकर्माले र निर्देशन शान थापाले गरेका हुन् ।













