उदियमान प्रतिभा आरती बुढा

-सुभाष श्रेष्ठ प्रधान 

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो मुख्य पेसा बनाउँदै निरन्तर अगाडि बढिरहेकी प्रतिभाशाली कलाकार आरती बुढा  Featured Model को रुपमा लोकप्रियताको शिखर चढिरहेकी छिन् । अनुशासित, लगनशील र कलाप्रति समर्पित आरतीले कला घरमा थिएटर अभिनयका गुरु गोविन्द सुनारबाट अभिनयको प्रशिक्षण लिएर आफ्नो कलाकारिता यात्रा सुरु गरेकी हुन् ।

अभिनयप्रतिको गहिरो रुचि, निरन्तरको अभ्यास र मेहनतले उनलाई आज मोडलिङ तथा कलाकारिताको क्षेत्रमा स्थापित बनाउँदै लागेको छ। दर्जनौँ सुदूरपश्चिमेली देउडा गीतहरूमा आफ्नो अभिनय तथा मोडलिङको जादु छरिसकेकी आरतीले ‘अछेता’ नाटकमा समेत अभिनय गरेकी छिन् । नाटक तथा म्युजिक भिडिओमा गरेको अभिनयका लागि उनले विभिन्न अवार्ड तथा सम्मान समेत प्राप्त गरेकी छिन्। यसका साथै उनले विभिन्न नेपाली चलचित्रहरूमा पनि अभिनय गर्दै आफ्नो कलाकारिता यात्रालाई फराकिलो बनाउँदै लगिरहेकी छिन् ।

हुम्ला जस्तो दुर्गम भूगोलबाट राजधानी आएर कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान बनाउन अघि बढ्नु आफैँमा प्रेरणादायी यात्रा हो। आफ्नो अनुशासन, लगनशीलता र प्रतिभाका कारण निरन्तर अगाडि बढिरहेकी आरतीले आगामी दिनमा नेपाली मोडलिङ तथा चलचित्र क्षेत्रमा अझै राम्रो काम गर्दै नयाँ उचाइ हासिल गर्नेछिन् भन्ने विश्वास गर्न सकिन्छ ।