-तुलसी गिरी ‘भावुक’
डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । आइतबार पर्यटन बोर्डको सभा हलमा आयोजित एक भव्य समारोहमा पुस्तकको लोकार्पण गरिएको हो । Book Hill बाट प्रकाशित सो पुस्तक लेखक डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार कृष्ण धराबासी, अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी ‘पथिक’ ले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

‘डङ्की’ अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको कथा हो । तथापि यो सुन्दर भविष्यको सपना बोकेर जोखिमपूर्ण अवैध बाटो हुँदै संसारभरबाट अमेरिका प्रवेशको प्रयास गर्ने र प्रवेश गर्न सफल हुने लाखौँ आप्रवासीहरुको प्रतिनिधिमूलक साझा कथा पनि हो । उपन्यासमा अनधिकृत रुपमा अमेरिका प्रवेश पछिको सङ्घर्षको कथालाई पनि रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यथार्थपरक कथामा आधारित यो उपन्यासले अवैध बाटो (डङ्की रुट) को यात्रा कति खर्चालु र डरलाग्दो छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।
समारोहमा वरिष्ठ साहित्यकार धरावासीले यस्तै कथावस्तुमा केही वर्ष अघि आफूले ‘तल्लोबाटो’ नामक उपन्यास लेखेको स्मरण गर्दै ‘डङ्की’ अझ उत्कृष्ट र आधिकारिक भएको धारणा राखेका थिए । उनले भने-‘मैले त तल्लो बाटोबाट अमेरिका प्रवेश गरेका केही युवाहरुसँगको कुराकानीको आधारमा लेखेको थिएँ, तर डा. गिरी पुस्तकमा लेखिएका अधिकांश ठाउँमा पुग्नुभएको रहेछ, र तल्लोबाटोको यात्रा कति कठिन र जोखिम्पूर्ण छ स्वयंले अनुभव गर्नुभएको रैछ । पढ्न थालेपछि छाड्न मनै लागेन, मैले एकै बसाईमा पढें ।’
समारोहका अर्का वक्ता वसन्त बस्नेतले अमेरिका जस्तो विशाल र समृद्ध मुलुकमा डा. गिरीले आर्जन गर्नुभएको प्रतिष्ठाप्रति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने धारणा राख्दै भने- ‘उपन्यास पढ्दै जाँदा लेखकलाई बिर्सिएँ, पात्र सँगसँगै यात्रा गरिरहे झैं अनुभूत भयो ।’ वक्ता बिना थिङले पनि उपन्यासको प्रशंसा गर्दै यसले हाम्रो समाजलाई धेरै प्रकारका प्रश्नहरु तेर्स्याएको धारणा राखेकी थिईन् । ‘खान लाउन पुगिराखेको, जिन्दगी सामान्य रुपमा चलिराखेको मान्छेले पनि अमेरिकाको सपना किन देख्छ ?’ थिङले भनिन् । उनले उपन्यासले युवाहरुमा देखिएको सामाजिक बाध्यता र मानसिक द्वन्द्वको स्थितिलाई प्रकाश पारेको धारणा राखेकी थिईन्।
यस उपन्यासका लेखक डा. चन्द्र गिरीको जन्म खोटाङ जिल्लाको चिमचिमामा भएको हो । वातावरण क्षेत्रका विश्वप्रसिद्ध अमेरिकी वैज्ञानिक डा. गिरी मेन्ग्रोभ नक्साङ्कन तथा अनुगमनका अगुवाका रुपमा परिचित छन् । यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) गरी नेपाली भाषाका दुई पुस्तक, ‘मैले नदेखेको सपना’ कै अङ्ग्रेजी अनुवादको पुस्तक Unimagined Dream : A journey from the foothills of Mount Everest to the world stage र डेढ दर्जन जति गीत प्रकाशित गरिसकेका डा. गिरी युएस इन्भारोन्मेन्ट प्रोटेक्सन एजेन्सीमा वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत छन् । उनी ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रुपमा पनि आवद्ध छन् ।
नेपालको सरकारी सेवाबाट आफ्नो पेसागत यात्रा सुरु गरेका उनले थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी तथा युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे (युएसजीएस) जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठानमा कार्य गरिसकेका छन् ।
उनले नेपालबाट बीएस्सी (साइन्स र फरेष्ट्री) तथा थाइल्याण्डबाट रिमोट सेन्सिङ र जिआइएसमा स्नातकोत्तर र विद्यावारिधि गरेका छन् । दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले विश्वका १२६ भन्दा बढी देशको भ्रमण गरेका छन् । दर्जनौं राष्ट्रका राजनेता, वैज्ञानिक तथा नीति निर्माताहरुसँग सहकार्य गरेका उनले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रपत्रिका र अनलाइनहरु मार्फत १२५ भन्दा बढी अनुसन्धानात्मक एवं समसामयिक विषयका लेख-रचना प्रकाशित गरेका छन् । ‘डङ्की’ डा. चन्द्र गिरीको पहिलो उपन्यास हो । कार्यक्रम Book Hill का प्रमुख भूपेन्द्र खड्काले सञ्चालन गरेका थिए ।













