–प्रकाश सुवेदी, संयुक्त राज्य अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टन डीसी मेट्रो च्याप्टरद्वारा आयोजित `आमाका कथाहरूमा एक विमर्श´ कार्यक्रम जुन २६ तारिखका दिन भव्य रूपमा सम्पन्न भयो। अनेसास डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आमा पुस्ताकी ज्येष्ठ महिला देवकी घिमिरेको प्रमुख आतिथ्य रहेको थियो।
च्याप्टरका महासचिव जगन्नाथ पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, डा. कविता घिमिरे, प्रा. डा. विष्णु घिमिरे, श्याम केसी, मञ्जु थापा, प्रेमचन्द्र ढुङ्गाना लगायतका वक्ताहरूले कार्यक्रमको सान्दर्भिकता तथा ‘छोरीले जन्माएका आमाहरू’ नामक कृतिमाथि आफ्ना विचार र अभिमत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा च्याप्टरकी सदस्य तनुजा पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्दै आमन्त्रित व्यक्तित्वहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार, कवि, कथाकार, समालोचक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मातृत्व, आमाको त्याग, ममता, संघर्ष तथा नेपाली साहित्यमा आमाको उपस्थितिलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा विविध सिर्जना, अनुभव र विचारहरूको अर्थपूर्ण आदानप्रदान गरिएको थियो।
कार्यक्रमकी पहिलो वक्ता तथा ‘छोरीले जन्माएका आमाहरू’ कृतिकी कृतिकार मध्येकी एक डा. कविता घिमिरेले कृतिको पृष्ठभूमि र त्यसमा निहित मूल भावबारे सटीक एवं भावपूर्ण अभिमत व्यक्त गर्नुभयो। आफ्नो मन्तव्यका क्रममा उहाँले हजुरबुवाको स्वाभिमान र बुवाको अभिमानलाई ओझेलमा पारेर आमाका कथा लेख्न नसकिने धारणा राख्नुभयो। आमाका कथा लेख्ने क्रममा आफ्नी आमा र हजुरआमा (आमाकी आमा) मार्फत जीवनभर सुन्न नपाएका अनेकौं कथाहरू सुन्ने अवसर प्राप्त भएको अनुभव उहाँले साझा गर्नुभयो।
विदेशमा तातो पानीले भाँडा माझिरहँदा स्वदेशमा एक्लै रहनुभएकी आमाले पिउने पानीसमेत पाउनुभएको छैन कि छैन भन्ने चिन्ताले छोरीहरुलाई बारम्बार सताउने गरेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो। डा. कविताले कृति लेख्ने आमाहरू र कृतिमा चित्रित आमाहरूका विविध आयाममाथि समेत प्रकाश पार्दै आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।
यसरी नै कृतिका परिकल्पनाकार मञ्जु थापाले यो कृति लेख्नुको तात्पर्य आमाहरु प्रति सम्मान व्यक्त गर्ने, आमाहरुको स्मृतिलाई दीगो राख्ने, उहाँहरुको योगदानलाई सार्वजनिक गर्ने र उहाँहरुले बाँचेको परिवेश र भोगेको समाजलाई पछिल्ला पिँढीहरुसम्म जानकारी दिने रहेको बताउनुभएको थियो।
कार्यक्रमको अर्को आकर्षण वरिष्ठ साहित्यकार होमनाथ सुवेदीद्वारा रचित तथा प्रा. मोहन सिटौलाद्वारा अङ्ग्रेजीमा अनूवादित `नन्दा´ खण्डकाव्यको अङ्ग्रेजी संस्करणको गृहलोकार्पण समेत गरिएको थियो। सो क्रममा प्रा. डा. विष्णु घिमिरेले कृतिमाथि समीक्षात्मक अभिव्यक्ति राख्नुभएको थियो। यद्यपि सो कृतिको विमोचन भने गत मे महिनामै कोलोराडोमा सम्पन्न भएको अनेसासको अन्तर्राष्ट्रिय सम्मेलनमा गरिएको थियो।
सो सम्मेलनमा अनुवादित कृतिका अनुवादक मोहन सिटौला र सम्पादक महेश पौडेलको समेत उपस्थिति रहेको थियो। विमर्श कार्यक्रमको समापनमा आयोजकले मातृत्वको सम्मान, नेपाली भाषा–साहित्यको प्रवर्द्धन तथा पुस्तान्तरणीय मूल्यहरूको संरक्षणका लागि यस्ता साहित्यिक विमर्शहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमले आमाप्रतिको सम्मान र नेपाली साहित्यप्रतिको समर्पणलाई एकैसाथ उजागर गर्दै सहभागीहरूमा गहिरो भावनात्मक छाप छोड्न सफल भएको थियो। कार्यक्रममा सहभागी कविहरुले आमाप्रति समर्पित कविता वाचन गर्नुभएको थियो। उक्त कविता वाचनले कार्यक्रमलाई थप सफल बनाएको सहभागीहरूले बताएका थिए।













