छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवको शुभारम्भ

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सुरु भएको छ । चलचित्र विकास बोर्डको सहकार्य तथा आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले मैनबत्ती बालेर उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित छैन । यसलाई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान र सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यमबाट पुनःस्थापित गर्ने अभियानका रूपमा लिइएको छ ।

महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित तङसिङ’, निमा लामा तामाङ निर्देशित ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित निको पहिचान’ प्रदर्शन गरिएको छ । महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।

कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित रीत’, अमृतमान महर्जन निर्देशित स्वयनगु’, जनक गुरुङ निर्देशित ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित दिलसरा’ प्रदर्शन हुनेछन् । यस्तै लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित दुखला ग्यम’, परशुराम चौधरी निर्देशित जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित लाहुरेनी’ समावेश छन् ।

वृत्तचित्रतर्फ अनिल मगर निर्देशित आग्रे’, होमकुमारी माझी निर्देशित लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।

महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।