पीडै पीडामा रुमल्लिएको परिवारको कथा लिएर आए गीतकार मणिराज

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार मणिराज बस्नेतको रचना र सुप्रसिद्ध गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘दु:खमाथि दुखै दु:ख’ को भिडिओ सार्वजनिक भएको छ l कमजोर आर्थिक अवस्थाका कारण पीडै पीडामा रुमल्लिएको परिवारको कथामा आधारित यो म्युजिक भिडिओ Mani Entertainment युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l कर्जाको कारण परिवार घरबारबिहिन भएको, अनेक सङ्घर्ष र पीडासँग जुध्दा जुध्दै अन्तत: गरिबीकै कारण पत्नीले समेत छाडेर गएको कारुणिक कथा भिडिओमा प्रस्तुत गरिएको छ l

लोकप्रिय सर्जक बी.बी. अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन, कमल थापाको मिक्सिङ र श्यामश्वेत रसाईलीको माष्टरिङमा तयार भएको यस गीतको भिडिओ निकेश खड्काको निर्देशनमा छायाङ्कन भएको हो l जसमा गौरव पहाडी र आयुष्मा कार्कीले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने दिनेश पराजुलीको सिनेमाटोग्राफी र विकाश धमलाको सम्पादन रहेको छ l

२०६० सालदेखि अमेरिका बस्दै आएका गीतकार मणिराज प्रवासमा रहेर पनि नेपाली कला-साहित्यको क्षेत्रमा क्रियाशील नेपालीहरु मध्येका एक सर्जक हुन् l अमेरिका प्रवेश गर्नु अघि ०५८ सालमै शक्तिबल्लभको सङ्गीत र स्वरुपराज आचार्यको स्वरमा ‘हिउँले ढाक्यो त्यो परि डाँडामा’ बोलको गीत रेकर्ड गरेर उनले गीत-सङ्गीतको औपचारिक यात्राको आरम्भ गरेका थिए । त्यसपछि निरन्तर सिर्जनाकर्ममा क्रियाशील रहेका स्रस्टा मणिराजको शक्तिबल्लभको एकल सङ्गीतमा पहिलो गीति एल्बम ‘पीडा’ (२०६४), शिव परियारको एकल सङ्गीतमा दोस्रो एल्बम ‘फाटेको मन’ (२०६७) र  बालन्द राईको एकल सङ्गीतमा तेस्रो एल्बम ‘प्रवासी मन’ (२०७२) प्रकाशन भएका थिए । गाउन पनि रुची राख्ने मणिराजको स्वरमा भने पहिलोपटक ‘बाँसैको टाटी’ बोलको युगल गीत रेकर्ड भएको थियो । महेश बुढाथोकीको शव्द/सङ्गीत रहेको  यस गीतमा उनलाई गायिका अञ्जु गौतमले साथ दिएकी थिईन् । मणिराजका रचनामा हालसम्म ४ दर्जन भन्दा बढी र स्वरमा लगभग आधा दर्जन गीत रेकर्ड भइसकेका छन् । उनका म्युजिक भिडिओहरु उनको आधिकारिक युट्युब च्यानल Mani Entertainment मा हेर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका, गीतकार सङ्घ नेपाल, काठमाण्डौ र रेडियो हिमालय, काठमाण्डौका आजीवन सदस्य मणिराजले रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल, डेनभर, कोलोराडोमा सन् २०१२ देखि २०१६ सम्म कोषाध्यक्षको र सन् २०१६ देखि २०२० सम्म उपाध्यक्षको दुई कार्यकालको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए  । प्रवासमा रहेर पनि नेपाली कला, सङ्गीत र साहित्यको लागि क्रियाशील थोरै नेपालीहरु मध्येका उनी पनि एक सर्जक/कलाकार हुन् ।