-तुलसी गिरी ‘भावुक’
गायक-गायिका लगायतका गीत-सङ्गीत क्षेत्रका प्रस्तोताहरुको रोयल्टी सङ्कलन/वितरणका लागि स्थापित संस्था ‘प्रस्तोता समाज नेपाल’ को हालै निर्वाचित कार्यसमितिको पद बाँडफाँड भएको छ । अध्यक्ष बाहेकका पदाधिकारी सदस्यको रुपमा निर्वाचित हुने र निर्वाचित समितिको पहिलो बैठकले पद बाँडफाँड गर्ने विधानको प्रावधान अनुसार अनामनगरस्थित समाजको आफ्नै कार्यालयमा बुधबार बसेको बैठकले कार्यसमिति पदाधिकारीहरुको पद बाँडफाँड गरेको हो ।
संस्थाका नव निर्वाचित अध्यक्ष नरहरि उपाध्याय ‘प्रेमी’ का अनुसार बैठकले उपाध्यक्षमा निर्णय श्रेष्ठ, महासचिवमा प्रेम बहादुर थापा, सचिवमा कृष्ण बहादुर रेउले, कोषाध्यक्षमा जुनु रिजाल काफ्ले र सदस्यहरुमा राधिका हमाल, हुम गैरे, दिनेश छेत्री, राजा राजेन्द्र पोखरेल, चेत बहादुर गोतामे (चेतन) र सुष्मा शाही ठकुरीलाई चयन गरेको छ । बैठकले कार्यसमिति सदस्यहरु राधिका हमाललाई अन्तर संस्था संयोजकको, हुम गैरेलाई प्रवक्ताको र दिनेश क्षेत्रीलाई कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी समेत दिएको छ । ११ सदस्यीय यस कार्यसमितिको कार्यकाल अवधि २ वर्षको रहने छ ।
गत चैत १० गते आयोजित संस्थाको १२औं र १३औं वार्षिक साधारण सभामा अध्यक्ष लगायत निर्णय श्रेष्ठ, चेत बहादुर गोतामे, प्रेम बहादुर थापा र दिनेश क्षेत्री निर्विरोध निर्वाचित भएका थिए भने जुनु रिजाल काफ्ले, कृष्ण बहादुर रेउले, राधिका हमाल, हुम गैरे र राजा राजेन्द्र पोख्रेल मतदान मार्फत विजयी भएका थिए ।
२०६६ सालमा दर्ता भएको यस संस्थामा रामकृष्ण ढकाल (२ कार्यकाल), हेमन्त शर्मा, तुलसी पराजुली र शिव हमाल (२ कार्यकाल) ले अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् । लामो समय अघिदेखि कार्यसमितिका विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका संस्थाका पाँचौं अध्यक्ष प्रसिद्ध सङ्गीतकार/गायक नरहरि उपाध्याय ‘प्रेमी’ श्रुति सङ्गीत विद्यालयका संस्थापक एवं सङ्गीत प्रशिक्षक समेत हुन् ।
गीतकार/सङ्गीतकारहरुको रोयल्टी सङ्कलन/वितरणका लागि स्थापित संस्था ‘सङ्गीत रोयल्टी सङ्कलन समाज’ ले प्रस्तोताहरुमा रोयल्टीको अधिकार नै नहुने भन्दै संस्थाको औचित्यमाथि नै प्रश्न उठाएर, लामो समय अघिदेखिको सहकार्य तोड्दै एक्लै हिँडिरहेको यस विषम परिस्थितिमा नव निर्वाचित अध्यक्ष नरहरि उपाध्याय ‘प्रेमी’ को कार्यकाल निकै चुनौतिपूर्ण रहने देखिएको छ ।












