-तुलसी गिरी ‘भावुक’
पशुपति म्युजिकले आफ्नो आधिकारिक युट्युब च्यानलबाट सुप्रसिद्ध सङ्गीतकर्मी कमल सापकोटाको शव्द/सङ्गीतमा रहेको समय सापेक्ष भावको गीत ‘अब देश कसले बनाउँछ ?’ को भिडिओ सार्वजनिक गरेको छ । सर्वप्रिय गायक कर्णदासद्वारा स्वरवद्ध यस गीतमा महाराज थापाको सङ्गीत संयोजन र साजन साहको मिक्सिङ्/माष्टरिङ् रहेको छ ।
शिवन पोखरेलको निर्देशन, देनिश खनालको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको यस म्युजिक भिडिओमा सरोज खनाल, कर्णदास, धर्मराज पोखरेल, रानु निरौला, पवन के.सी., गोपाल ढकाल ‘छन्दे’, सरिता राजोपाध्याय, घमन सिंह तामाङ, समीक्षा के.सी., दर्पण जी.टी, सनराइज धनुके आदि कलाकारको अभिनय रहेको छ भने भिडिओका निर्माता पशुपति म्युजिकका प्रवन्ध निर्देशक शिवराज पौडेल हुन् ।
विभिन्न कारणबस निरन्तर नेपाली युवाहरु परदेश पलायन भैरहेको यथार्थ र त्यसले गर्दा गाउँघरमा जन्ति र मलामी समेत पाइन छाडेको, वृद्ध बाबुआमा बिरामी पर्दा तातोपानी दिन सन्तति समेत साथमा नहुने गरेको दु:खद् अवस्थालाई गीत तथा भिडिओले जीवन्त उतारेको छ । के गाउँ के शहर घरघरको कथा, सिङ्गो मुलुकको यथार्थ व्यथा बोकेको यस गीतले सुनसान हुँदै गएका गाउँघर, विद्यार्थी अभावमा रित्तिदै गएका कलेज र पौरखी हात नहुँदा बाँझो भएका खेतबारीप्रति पिडा पोख्दै आफ्नै देशमा फर्किएर पौरख गर्न आग्रह गरेको छ । ‘यहीँ अनेक प्रकारका भूगोल-हावापानी र अपार स्रोत छ । परदेशबाट फर्किएर आफ्नै देशमा कर्म गरौँ ’ सन्देशमूलक भावको यस गीतले भनेको छ ।
यस गीतका रचनाकार कमल सापकोटा तनहुँ जिल्लाको आँबुखैरेनी-१ का निवासी हुन् । उनी लामो समयदेखि शिक्षण सेवामा आवद्ध छन् । दुई दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा शिक्षण पेशामा आवद्ध उनी करिब २५ वर्षदेखि सङ्गीत क्षेत्रमा पनि क्रियाशील रहँदै आएका छन्। गीत रचना, सङ्गीत सिर्जना र गायन तीनै विधामा उत्तिकै कुशल सर्जक/कलाकार कमलका हेर्न भुले, लाखबत्ती, झझल्कोले सता’छ, दिन सक्छु आफ्नै रगत, एउटै घरका सन्तान हामी, बन्दिपुर टुँडिखेलैमा, पानी धाराको, मुहारैमा र पुतली भुरुरु जस्ता गीत लोकप्रिय छन्।
२०६४ सालमा लाखबत्ती एल्बमको गीतका लागि उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गरेका कमलले विगतमा तनहुँ जिल्लाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला समितिमा सहसचिवको रूपमा काम गरेका थिए भने हाल उनी चितवनमा रहेको इच्छाकामना त्रिवेणी कला केन्द्र (चार जिल्लालाई समेट्ने) का उपाध्यक्ष र आँबुखैरेनी वाङ्मय परिषद्का सहसचिव एवं गीतकार प्रतिष्ठान पोखरा र आँबुखैरेनी स्रस्टा समाजका आजीवन सदस्य समेत हुन् ।













