भक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्षित विशेष घोडचढी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्डले घोषणा गरेको ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ अन्तर्गत आयोजित यो कार्यक्रम ७ दिनसम्म दैनिक ३ सिफ्टमा सञ्चालन गरिएको थियो, जसमा ७ जना प्रशिक्षक र ७ वटा घोडाको व्यवस्थासहित व्यवस्थित प्रशिक्षण प्रदान गरिएको थियो।
विशिष्ट चलचित्रकर्मी एवं चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले सहभागीहरुलाई परिचयपत्र तथा टोपी प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए भने बोर्ड अध्यक्ष दिनेश डिसीले स्वयं घोडा चढेर तालिमको औपचारिक उद्घाटन गरेका थिए।
ऐतिहासिक, पौराणिक तथा युद्धप्रधान कथावस्तुमा घोडचढी अनिवार्य हुने भएकाले कलाकारहरूलाई सुरक्षित र व्यावसायिक अभ्यासमार्फत दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बोर्डले जनाएको छ। सहभागी कलाकारहरूले घोडचढी, सन्तुलन, स्टन्ट सुरक्षा तथा शारीरिक अनुशासन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्।
तालिममा विजय बराल, कविता नेपाली, विशाल पहाडी, सरिता भारती, गोपाल ढकाल (छन्दे), एवन उप्रेती, श्रीदेव भट्टराई, दिनेश खड्का, नाजिर हुसेन, अरुण बहादुर स्याङ्तान ‘लामा’ र रमेश चन्द सोडारीको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय फिल्म उद्योगमा यस्ता तालिम दीर्घकालीन तयारीको अभिन्न अङ्ग मानिन्छ। विदेशमा अभिनयको पाठ्यक्रममा सहायक अभिनय क्षमता अभिवृद्धिको लागि घोडाचढि, पौडी, गाडी, बाईक, नृत्य र द्वन्द्व समेतको पढाई हुने गर्छ । नेपालमा केही समय पहिले केही फिल्म कलेजले यस्ता अध्ययन समेत सुरु गरेका थिए भने अहिले विविध कारणले रोकिएको छ । यही अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै नेपाली चलचित्रकर्मीलाई प्रतिस्पर्धी र सुरक्षित बनाउने लक्ष्य बोर्डले अघि सारेको जनाएको छ।
अध्यक्ष डिसीले सीप विकासलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। सीमित बजेटभित्र स्पष्ट उद्देश्यसहित सञ्चालन गरिएको तालिमले भविष्यमा दुर्घटना न्यूनीकरण, स्टन्ट सुरक्षा सुदृढीकरण तथा गुणस्तरीय दृश्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागी कलाकारहरूले ‘आज सिकेको सीप भोलिको सुरक्षित र प्रतिस्पर्धी नेपाली सिनेमा निर्माणको आधार हो’ भन्दै घोडचढी तालिमले आफूहरूलाई ऐतिहासिक र एक्शनप्रधान चलचित्रमा विश्वसनीय रूपमा प्रस्तुत हुन आत्मविश्वास दिएको बताएका छन्।
यसअघि भारतबाट प्रशिक्षक ल्याई डल्वी एटमस साउण्ड मिक्सिङ् तालीम सम्पन्न गरेको बोर्डले छिटै विदेशी प्रशिक्षकको साथ, लाईट-ग्याफर तालीम, प्रोस्थेटिक मेकअप तालिम, साउण्ड डवीङ् तालिम र ड्रोन अपरेटर तालिम समेत सञ्चालन गर्दैछ । यी सबै तालिमहरु हाल सिनेमा क्षेत्रमा सम्बन्धित विधामा सकृय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्येश्यसहित चलचित्रसंग सम्बन्धित संस्थासँगको सहकार्यमा बोर्डले आयोजना गर्ने छ । दक्षता अभिवृद्धि वर्ष अन्तर्गत सञ्चालन भइरहेका अन्य ध्वनि, छायांकन, पटकथा तथा डिजिटल प्रविधि सम्बन्धी कार्यक्रमसँगै यो पहलले नेपाली चलचित्र उद्योगलाई व्यावसायिकता र विश्वस्तरीय अभ्यासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।














