शान्तिराम राईको एकल साङ्गीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

-सानु श्रेष्ठ 

नेपाली सङ्गीतको क्षेत्रमा विगत ४ दशकदेखि निरन्तर सङ्गीत सिर्जना गरिरहनुभएका प्रतिष्ठित सङ्गीतकार, गायक, प्राज्ञ शान्तिराम राईको एकल साङ्गीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिसक्लवको सगरमाथा हलमा हालै भव्यरुपमा सम्पन्न भएको छ । खोटाङ जिल्लाको दिक्तेलमा ५५ बर्ष अगाडि माता मनहिरा र पिता राहामानको कान्छा छोराको रुपमा जन्मिएका शान्तिराम राईले आफ्नो ४ दशक लामो साङ्गीतिक सिर्जना यात्राका क्रममा २ हजार भन्दा बढी सङ्गीत सिर्जना गरि नेपाली सङ्गीतको भण्डारमा अथाह योगदान गरिसकेका छन् ।

समाजशास्त्र र सङ्गीतशास्त्रमा मास्टर्स सम्मको अध्ययन पूरा गरेका शान्तिराम राईले सङ्गीतका विद्यालय स्तरीय पाठ्यपुस्तक लेखिसकेका छन् भने उनी राष्ट्रतिबाट प्रवल जनसेवाश्री, नेपाल सरकारबाट राष्टिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, रेडियो नेपालबाट सर्वित्क्रिष्ट सङ्गीतकार लगायत सयौं सम्मान र पुरस्कारद्वारा पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा आयोजकको तर्फबाट गायक रुपकुमार राईले उपस्थित सबैलाई र सहयोगीहरुलाई स्वागत र धन्यवाद मन्तव्य राखेका थिए भने सङ्गीतकार महेश खड्काले रुद्राक्षको माला जडित श्रीपेजको ताज र पुष्पगुच्छा सहित प्रतिष्ठित सङ्गीतकार शान्तिराम राईलाई सङ्गीत सिर्जनाका सङ्गीत महाराजाको उपाधी दिएर सम्मान अर्पण गरेका थिए । आफ्नो पहिलो सङ्गीत ‘तिमी तारे भिर म त लहरा’ सुनाएर कार्यक्रमको सुरुआत गरेका शान्तिराम राईले विभिन्न आठ वटा गीत गाएका थिए ।  जसमा उनलाई अहिलेकी चर्चित गायिका स्मिता प्रधानले साथ दिएकी थिईन् ।

कार्यक्रम अवधिभर विभिन्न कालखण्डका प्रतिनिधि २१ वटा कालजयी अमर सङ्गीतहरु सुनाइएको थियो । प्रसिद्ध गायक गायिकाहरु शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ हुँदै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका जुनु प्रसाइँ र मनमा बी राईले शान्तिराम राईका सदाबहार सङ्गीतहरु गाएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन मद्धत गरे । बिनुशा राई, एलिना राई र एलिना उदाशले सबै गीतहरुमा कोरस गाएका थिए ।

शान्तिरामाले आजका दिनसम्म आईपुग्न शम्भु राईको सुरुआती साथ सहयोगको खुलेरै प्रशंसा गरेका थिए भने तिमी तारे भिर, बाटो हेरे हुन्छ आमा, धोका दियौ तिमीले, छालहरु हो, जस्ता आफ्नो सुरुआती कम्पोज नै हिट भएकाले आफू यहाँसम्म आईपुग्न सकेको भन्दै दर्शक श्रोता र शुभचिन्तकहरुलाई भगवान, अल्लाह, जिसस् र सुम्निमा पारुहाङ भन्न भ्याए उनले । उनले आफ्नो एकल साङ्गीतिक कार्यक्रम अब धरान, हङकङ र बेलायतमा हुने कुरा पनि जानकारी गराउँदै सबै सहयोगीहरु, आफन्त, शुभचिन्तक, स्थानीय सरकार, विभिन्न संघ-संस्थाहरुलाई धन्यवाद दिए ।

२६ जना धुरन्धर वाद्यवादकहरुको लाइभ अर्केष्ट्रामा सुनाइएको गीतहरु नेपालकै इतिहासमा दुर्लभ कार्यक्रमको रुपमा लिइएको छ । अशोक राईको सङ्गीत संयोजन र निर्देशनमा १० दिन भव्य रिहल्सल गरि व्यवस्थित रुपबाट स्टेज साज सज्जा सहित नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको यो एक ऐतिहासिक कार्यक्रम रहेको सबैले महसुस गरे । हल भरिभराऊका बीच कलाकारहरुको दमदार प्रस्तुतिले यो कार्यक्रम भव्य र सभ्य बन्न सफल रह्यो ।

नेपाल एयरलाइन्सको मुख्य प्रायोजन र प्याब्सन काठमाडौंको सहकार्यमा दर्जनौं देशी तथा विदेशी संघ संस्था, व्यक्ति र स्थानीय सरकारहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेशी तुवाचुङ नगरपालिका सहित डेढ दर्जन गाउँपालिकाहरुको साथ रहेको यस कार्यक्रमलाई खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको थियो ।