-तुलसी गिरी ‘भावुक’
गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित एक प्रतिष्ठित रेष्टुरेन्टमा व्यावसायिक गायनका लागि नेपाली कलाकार टोलीको साथ उनी त्यहाँ पुगेकी हुन् । उनी अझै त्यहाँ केही महिना बस्नेछिन् र सम्झौता अवधि सकिएपछि नेपाल फर्कने छिन् । व्यावसायिक गायनका लागि पहिलोपटक बिदेशी भूमि चाइना पुगेकी वर्षाले त्यहाँको बसाई समग्रमा सोचे भन्दा राम्रो भएको जानकारी गराएकी छिन् । वाद्यवादक र गायक-गायिका सहितको नेपाली कलाकार टोलीलाई सम्झौता गरेर निश्चित अवधिको लागि विदेश लाने प्रचलन धेरै पुरानो हो । खासगरि जापान, हङकङ्, यू.के., सिंगापुर लगायतका देशमा रहेका रेष्टुरेन्टहरुले रात्रीकालिन व्यावसायका लागि नेपाली कलाकारलाई धेरै पहिलादेखि लाने गरेका छन् ।

रौतहट, चन्द्रपुर-१ निवासी पिता हर्क बहादुर परियार र माता कुन्ति परियारको परिवारमा जेठी छोरीको रुपमा जन्म लिएकी वर्षा दुई भाइकी दिदी पनि हुन् । रौतहटकै श्री उच्च माध्यमिक विद्यालयमा पढेकी वर्षा सानै उमेरदेखि गाउँघर लगायत स्कूलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा गीत गाउने गर्थिन् र पुरस्कृत पनि हुन्थिन् । ७ कक्षामा पढ्दै गर्दा आयोजित रौतहट जिल्लास्तरीय अन्तरविद्यालय गायन प्रतियोगितामा प्रथम भएपछि उनी सहित ‘टप-२०’ लाई काठमाण्डौ ल्याइएको थियो । भीएस निकेतन स्कूलमा पुन: भएको गायन प्रतिस्पर्धामा उनले नगद सहितको प्रथम पुरस्कार पाएकी थिईन् । जिल्ला प्रथम भएपछि स्थानीय क्षेत्रमा सबैको नजरमा परेकी वर्षा महोत्सव र अन्य प्रकारका सांस्कृतिक कार्यक्रमहरुमा पनि आमन्त्रित हुन थालिन् । बिस्तारै स्थानीय क्षेत्रमा उनलाई सेलिब्रेटीको नजरले हेर्न थालियो ।
वर्षाका पिता हर्क बहादुर पनि गायनका शौखिन हुनुहुन्थ्यो । ‘हाम्रो घरमा पहिल्यैदेखि हार्मोनी थियो । गीत-सङ्गीतप्रति अत्यन्तै झुकाव भएपनि सपोर्ट गर्ने र हौसला दिने कोही नभएकोले बाबाको ईच्छा अधुरै भयो’ वर्षा केही गम्भीर हुँदै भन्छिन् । सुरु सुरुमा हर्क बहादुर आफ्नी छोरी वर्षा शिक्षिका भएको हेर्न चाहनुहुन्थ्यो । तर छोरीको गायनप्रतिको लगाब र बढ्दो लोकप्रियता देखेपछि उहाँले पनि गायनमै अघि बढ्न हौसला दिनुभयो, सपोर्ट गर्न थाल्नुभयो । ‘त्यो बेला युट्युबमा ट्रयाक पाइँदैनथ्यो । मेरो लागि गीतका ट्रयाक खोज्दै बाबा कहाँ कहाँसम्म पुग्नुहुन्थ्यो’ विगत सम्झंदै वर्षा भन्छिन् ।

एसएलसी उत्तीर्ण गरेपछि पढाई सँगसँगै सङ्गीतमा पनि केही गर्ने सपना बोकेर सन् २०१८ मा राजधानी प्रवेश गरेकी वर्षा दासले सुरुमा गुरुदेव कामतसँग सङ्गीत सिकिन् भने हाल राम सिटौलासँग सिकिरहेकी छिन् । त्यसो त रौतहटमा छँदै उनले २०१३ बाट नै स्थानीय सङ्गीतज्ञ तेज नारायणसँग पनि सङ्गीत सिकेकी थिईन् । कलेज पढ्दै सङ्गीतलाई पनि समय दिईरहेकी उनले काठमाण्डौ प्रवेश गरेकै साल, अर्थात् २०१८ मै राज क्षितिजको रचना र मनोज मालेको सङ्गीतमा आधुनिक गीत ‘जवानीको सारा खुसी’ रेकर्ड गर्ने शौभाग्य प्राप्त गरिन् ।
प्लस टु सकिएपछि सङ्गीत लिएर रत्नराज्य क्याम्पसमा स्नातक पढ्न सुरु गरेकी वर्षा सबै प्रकारका गीत गाउन उत्तिकै पोख्त छिन् । उनले आधुनिक, तीज, काँठे लगायतका गरि लगभग साढे ३ दर्जन गीतमा स्वर दिईसकेकी छिन् । अरु क्षेत्रमा धेरै प्रकारका अवसरहरु आउँदा पनि गीत-सङ्गीतमै केही गर्छु भनेर समर्पित भावले क्रियाशील रहेकी आत्मविश्वाशी प्रतिभा हुन् उनी। सन् २०१९ मा म्युजिक पार्कले आयोजना गरेको एक म्युजिकल कार्यक्रममा उनी पुरस्कृत पनि भएकी थिईन् । प्रतिभा भन्दा भाइरलको पछि लाग्ने प्रवृत्ति र राम्रालाई भन्दा हाम्रालाई अवसर दिने परिपाटीप्रति उनले दु:ख व्यक्त गरेकी छिन् । आफ्नै मेहेनत र सङ्घर्षले यो ठाउँसम्म आईपुगेकी प्रतिभाशाली गायिका वर्षा गायन क्षेत्रमै आफ्नो भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ कत्ति पनि विचलित नभई अविरल अघि बढिरहेकी एक आशालाग्दी उदीयमान प्रतिभा हुन्।














