बा आमाको महिमा बयान गर्दै शिशिर योगी

-तुलसी गिरी ‘भावुक’

मेलोडी सुल्तानको उपनामले समेत प्रसिद्धि कमाएका लोकप्रिय गायक शिशिर योगीको स्वरमा रहेको गीत ‘बा आमा’ सार्वजनिक भएको छ । गायक योगीकै रचना, सङ्गीत र स्वरमा रहेको यस गीतमा बीबी अनुरागीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ्/माष्टरिङ् रहेको छ । गीत भर्खरै गायक योगीकै युट्युब च्यानल hishir Yogi बाट डिजिटल बजारमा आएको हो ।

जीवनका विभिन्न पाटाहरूमा, घामपानी र भोगाईका आरोह-अवरोहहरुमा बा-आमाले आवश्यकता अनुसार भिन्न भिन्न स्वरुपमा कसरी सन्ततिको सुरक्षा र पालन गरिरहेका हुन्छन् भन्ने बिबात्मक प्रस्तुति रहेको छ गीतमा । बा-आमालाई सिक्काको दुई पाटाको रुपमा बयान गरिएको छ ।

शव्द, सङ्गीत र गायनको बेजोड प्रस्तुति रहेको यो गीतले जो कोही श्रोतालाई भाव सागरको अनन्त गहिराईको सयर गराउन सक्ने क्षमता राख्दछ ।  गहिरो र गहन भाव भएको यो गीत सुन्दै जाँदा अनायासै कठोर मनका श्रोताको पनि बा-आमाप्रतिको प्रेम र श्रद्धाले आँखा टिल्पिलाउन सक्छ ।

शिशिर योगी किन अरु भन्दा भिन्न छन् ? अर्थात् उनको आफ्नै फरक धार छ किन भन्ने गरिएको हो ? ‘मेलोडी सुल्तान’को उपनाम उनले किन पाए ? यी सबै कुराको जवाफ यो एउटै गीतले दिन्छ ।