उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको कीर्तिमान राख्न सफल सितारवादिका सीता मैयाँ राजचलको सितार वादनको अर्केष्ट्रामा तयार पारिएको राष्ट्रिय गीत (सयौं थुँगा फूलका हामी…) को धुनमा आधारित भिडिओ शुक्रबार साँझ सार्वजनिक भएको छ। शिलाबहादुर मोक्तानको सङ्गीत संयोजनमा सितारवादनको अर्केष्ट्रामा तयार पारिएको सो भिडिओ शुक्रवार साँझ ललितपुरमा आयोजित १० औं ICT Award 2025 को अवसरमा प्रीमियर गरिएको हो।

ब्याकुल माइलाको शब्दरचना तथा अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रिय गानलाई सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अनुमतिमा सितार वादनको अर्केष्ट्रामा तयार पारिएको कुरा सांस्कृतिक संस्थानकी राष्ट्रिय कलाकार सीता मैयाँले जानकारी गराएकी छिन् । सङ्गीतकर्मी राजचलका अनुसार सांस्कृतिक संस्थानको पहलमा पर्यटन तथा संस्कृति मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरी नेपाल आर्मीसंगको सहकार्यमा निर्णय श्रेष्ठको निर्देशनमा प्रस्तुत राष्ट्रिय गानको भिडिओ सामग्रीलाई १०औं संस्करणको आईसीटी अवार्ड २०२५ को मञ्चमा प्रीमियर गरिएको हो । यो भिडिओ छिट्टै यूट्युबमार्फत पनि सार्वजनिक गरिने कुरा सङ्गीतकर्मी राजचलले जानकारी गराएकी छिन् ।
वर्ल्ड बुक अफ रेकर्ड लण्डनले ‘उभिएर सितार बजाउने विश्वकै पहिलो महिला सितारवादिका’ को सूचीमा सूचीकृत गरेपछि संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशी र वर्ल्ड बुक अफ रेकर्डका पदाधिकारीहरुले ७ अप्रिल २०१९ मा सीता मैयाँलाई सो सम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
देश–विदेशका विभिन्न स्थानमा सितार वादनमा आफ्ना प्रस्तुतिहरु दिइसकेकी सितारवादीका सीतामैयाँ विभिन्न सम्मानहरुबाट पनि सम्मानित छिन् । करिब तीन दशकदेखि गीत सङ्गीतको क्षेत्रमा क्रियाशील रहेकी उनी २०५४ देखि व्यावसायिक सितार वादनको कार्यमा सक्रीय रहेकी छिन् ।














