डेक प्रसाद ११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा सहभागी

-सीतल आचार्य, काठमाडौं 

इन्टरनेशनल डान्स काउन्सिल (CID) अमेरिका शाखाको निमन्त्रणामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रबन्धक डेक प्रसाद अधिकारी ‘गोपाल’ ११औं अन्तर्राष्ट्रिय कला, संस्कृति तथा नृत्य सम्मेलनमा सहभागी भएका छन्। अमेरिकाको मियामी, फ्लोरिडामा सम्पन्न उक्त सम्मेलनमा ५० भन्दा बढी विभिन्न कला क्षेत्रको प्रतिनिधित्व गर्ने ३०० भन्दा बढी विज्ञहरूको उपस्थिति रहेको थियो।

उक्त महाधिवेशनको मूल विषय Healing Through Dance – Series 3 रहेको थियो, जसले नृत्यका विविध रूपहरूको प्रदर्शनमार्फत कला–संस्कृतिको सम्पूर्ण वातावरण झल्काउने काम गरेको थियो। यो कार्यक्रम विविध सांस्कृतिक पेशेवरहरूको एक वैश्विक सञ्जालको रूपमा स्थापित हुँदै समुदायहरूलाई सबल बनाउने र समाजमा कलाको भूमिका तथा योगदानप्रति अझै गहिरो सम्मान र मान्यता अभिवृद्धि गराउने उद्देश्यसँग अघि बढाइएको हो।

सम्मेलनका क्रममा अधिकारीले आयोजक तथा सहभागी प्रतिनिधिहरूसँग नेपाली कला–संस्कृतिको परिचय गराउँदै आगामी दिनमा सरकारी तथा गैर–सरकारी निकायसँग समन्वय गरी यस्ता कार्यक्रमहरू नेपालमै आयोजना गर्न सकिने सम्भावनाबारे जानकारी गराएका छन्।