-सानु श्रेष्ठ
नेपाली मौलिक संस्कृतिको पहिचान बोकेको नयाँ मौलिक ठाडो भाका गीत सार्वजनिक गरिएको छ। नेपाली लोकसंगीतको धरोहरलाई आधुनिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यसहित तयार गरिएको यो गीत हिरा पुन मगरको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। गीतमा किरण बीसी, रमेश घले, प्रिया मगर र हिरा पुन मगरले दमदार स्वर दिएका छन्।
नेपाली पहाडी संस्कृतिको आत्मा झल्कने शब्दहरू किरण बीसी र प्रयास कुँवर मगरले लेखेका हुन्। गीतको संगीत संयोजन लोकप्रिय संगीतकार सुक्र तामाङले गरेका छन्, जसले भाकालाई मिठासपूर्ण र मनमोहक बनाएको छ। म्युजिक भिडियोलाई अझै आकर्षक बनाईएको छ मुख्य कलाकार शेरबहादुर क्षेत्री र युमि गौतमले प्रस्तुत गरेको शानदार अभिनयले। उनीहरूले नेपाली मौलिक भेषभूषा, पहाडी परिवेश र पारम्परिक चटुल बोलाइको भावपूर्ण प्रस्तुतीकरणमार्फत गीतको भावनालाई स्पष्ट र प्रभावशाली ढङ्गले व्यक्त गरेका छन्।
युमि गौतमको उत्कृष्ट प्रस्तुतीले गीतमा सुनमा सुगन्ध थपेको छ । भिडियोकै माध्यमबाट स्थानीय संस्कृति, गाउँघरको वातावरण, परम्परागत चालचलन र सांगीतिक विरासतलाई जोगाउने प्रयास स्पष्ट रूपमा देखिन्छ। छायांकन, लोकेशन र दृश्य व्यवस्थापनले भिडियोको सौन्दर्यलाई थप निखार दिएको छ। गीत सार्वजनिक भएको केही समयमै युट्युब र सामाजिक सञ्जालमा दर्शक–श्रोता दुवाबाट उत्कृष्ट प्रतिक्रिया आइरहेको छ।
धेरैले गीतमा रहेको मौलिकता, संगीत संयोजन, कलाकारहरूको अभिनय तथा संस्कृतिले बोकेको आत्माको प्रशंसा गर्दै सकारात्मक प्रतिकृया व्यक्त गरेका छन्। नेपाली मौलिक संगीत र सांस्कृतिक पहिचानलाई विश्वभर फैलाउने उद्देश्यसहित तयार गरिएको यस गीतले देश–विदेशमा रहेका नेपाली संगीतप्रेमीहरूको मन जित्ने विश्वास लिइएको छ।














