राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा तीन विशिष्ट साधक सम्मानित

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिने तीन अग्रज-श्रष्टाहरुलाई ‘विशिष्ट साधक सम्मान २०८२’ ले सम्मान गरेको छ । ललितकलाका विविध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपालकै पहिलो नृत्य निर्देशक एवम् प्रसिद्ध कलाकार भैरवबहादुर थापा, वरिष्ठ गायिका एवम् साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक एवम् शब्द सङ्कलक रेशम थापालाई जनही रु. ५ हजार ५ सय ५५ नगद, दोसल्ला र प्रशंसा-पत्र सहित सम्मान गरिएको छ ।

गत मङ्सिर ६ गते संस्थाका पदाधिकारीहरुले श्रष्टाकै निवासमा पुगी परिवारका सदस्य सहितको उपस्थितिमा सम्मान प्रदान गरेका थिए। सम्मानित श्रष्टाहरुले आफ्नै निवासमा आई पारिवारिक माहोलमा सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरेका छन् ।

सम्मान कार्यक्रममा संस्थाका सल्लाहकार गीतकार रमेश दाहाल, सङ्गीतकार एवं गायक कमल अधिकारी, कार्यसमिति अध्यक्ष नारायण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, सदस्यहरु वीरेन्द्र भाट ‘विपिन’, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना,कोपिला सिवाकोटी, प्रमोद डिजी र बिक्रान्त आचार्यको उपस्थिति थियो। संस्थाले २०८० मा खड्ग गर्बुजा, चैत्यदेवी र शशी विक्रम शाहलाई र २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्यायलाई सम्मान गरेको थियो।