-तुलसी गिरी ‘भावुक’
उदियमान बाल गायिका बिनिशा भाटको स्वरमा रहेको कभर गीत ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ को भिडिओ सार्वजनिक भएको छ । स्वाभिमान र देशप्रेमले ओतप्रोत यस गीतका रचनाकार तथा सङ्गीतकार प्रतिष्ठित सङ्गीतकर्मी शरण प्रधान हुन् भने अमर गायिका अरुणा लामा यसकी मूल गायिका हुन् । गीतमा हाम्रो आफ्नो पन, मौलिकता, संस्कार, संस्कृति र वीरगाथाप्रति गर्व गरिएको छ । भिडिओ गायिका बिनिशाकै आधिकारिक युट्युब च्यानल Binisha Bhat मा अपलोड भएको छ ।
सङ्गीतकर्मी पर्वत श्रेष्ठको विशेष सक्रियतामा रेकर्ड भएको यस गीतको मिक्सिङ् पनि पर्वतले नै गरेका हुन् । लोकेश भाटको सम्पादन रहेको यो भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
प्रसिद्ध सिनेमाटोग्राफर तथा भिडिओ सम्पादक वीरेन्द्र भाट ‘विपिन’की छोरी बिनिता हाल पद्मोदय सेकेण्डरी हाईस्कूल, पुतलीसडकमा कक्षा ८ मा अध्ययन गरिरहेकी छिन् । सङ्गीतको औपचारिक प्रशिक्षण बिना नै स्वअभ्यासको भरमा गीत रेकर्ड गरेकी बिनिशाले करिव ५ महिना अघि ‘गङ्गा रानी’ बोलको गीत पहिलोपटक रेकर्ड गरेकी थिईन् । देवी पराजुलीको शब्द र पर्वत श्रेष्ठको सङ्गीत रहेको सो गीत भने सार्वजनिक गरिएको छैन । भिडिओ निर्माण भएपछि सार्वजनिक हुने कुरा थाहा भएको छ ।














