नभेटिने मायाको तृष्णा पोख्दै गायिका मोनिका

वरिष्ठ गीतकार चूडामणि देवकोटाको नयाँ गीत ‘नभेटिने माया’ को भिडिओ सार्वजनिक भएको छ । लोकप्रिय अग्रज सङ्गीतकार सुनिल मास्केको सङ्गीत र प्रदीप श्रेष्ठको म्युजिक एरेञ्ज रहेको यस गीतमा मोनिका राईले स्वर दिएकी छिन् । भिडिओ सङ्गीतकार सुनिल मास्केको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतका शब्द जति राम्रा छन् स्वर र सङ्गीत पनि त्यत्तिकै मधुर छन् ।

प्रायः देशप्रेम र राष्ट्रियता झल्किने गीत लेख्ने गीतकार देवकोटाका पछिल्लो समय माया प्रेमका गीत पनि सार्वजनिक हुँदै आएका छन् । गीतकार सङ्घका पूर्व अध्यक्षसमेत रहेका देवकोटाका धेरै गीत श्रोतामाझ लोकप्रिय छन् । देवकोटाले विसं.२०२७ सालदेखि हालसम्म निरन्तर गीत, कविता र साहित्य लेखन यात्रालाई जारी राखेका छन् ।

सिक्किमको पाक्योङबाट काठमाडौंमा आएर सङ्घर्ष गरिरहेकी प्रतिभाशाली गायिका मोनिकाका धेरै गीत श्रोता/दर्शकले मन पराएका छन् । उनका बुबा सन्देश राई सङ्गीतकर्मी हुन् भने परिवारका अन्य सदस्य पनि सङ्गीतमै सक्रिय छन् ।