कवि तथा गजलकार रूपक अलङ्कारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ सङ्गीतबद्ध भई गायनमा आएको छ। विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरि आफ्नै स्वरमा उक्त कविता गाएका छन्। स्रग्विणी छन्दमा रचना गरिएको कविता रूपकको हालै प्रकाशित कवितासङ्ग्रह ‘शान्त शर्वरी’मा सङ्ग्रहित छ। सन्तोषले छन्दकवितालाई सङ्गीत गरेर गायनमा ल्याइरहेका छन्! ‘छन्दको कोकलता, लयमधुरता र प्रभावकारितालाई सङ्गीतमा ल्याउँदा अझ ओजपूर्ण हुने रहेछ । सङ्गीतमैत्री शब्दहरू पनि भएमा त झनै सुन्दर र सशक्त हुने रहेछ’ सन्तोष भन्छन् ।
कवि रूपकले ‘शान्त शर्वरी’बाट २ वटा कविता सन्तोषले गाएको जानकारी दिए । ‘यसअघि उहाँले पञ्चचामर छन्दमा ‘म हुँ स्वतन्त्र रापती’ कविता पनि गाउनुभएको छ । त्यो कविता पनि धेरैले मन पराउनु भएको छ’ उनले भने ।














