सकारात्मक परिवर्तन र भ्रष्टाचारविरुद्ध सन्देशमूलक गीत ‘अब जाग्नु पर्छ’

हेम सरिता पाठक फाउन्डेसनद्वारा निर्मित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडिओ अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।

फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पित गीतका शब्द फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् भने सङ्गीत र गायन बी. बी. अनुरागी र शिशिर योगीले गरेका हुन्। कार्यक्रममा गीतकार हेम पाठकले गीतको उद्देश्यबारे बोल्दै भ्रष्टाचारविरुद्धको अभियानमा जागरण आवश्यक रहेको उल्लेख गरे। सो अवसरमा अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रममा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए। फाउन्डेसनकी अध्यक्ष जेनी पाठकले जेन–जेड आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने बताइन्। उनले आगामी निर्वाचनमा भ्रष्ट नेताहरूप्रति जनताले ‘भोट हुँदैन’ भन्ने जनचेतना फैलाउन आग्रह गरिन्।

कार्यक्रममा फाउन्डेसनका दूत किरण के. सी., लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, गीतकार एवं समाजसेवी शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रा. डा. गोविन्दमान सिंह कार्की, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाललगायत विभिन्न क्षेत्रका व्यक्तित्व, संस्थाका प्रतिनिधि, पत्रकार, साहित्यकार तथा अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ‘अब जाग्नु पर्छ’ म्युजिक भिडिओले समाजमा सकारात्मक परिवर्तन र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने सन्देश बोकेको छ।