नेपाली साङ्गीतिक क्षेत्रमा पनि विशिष्ट योगदान दिएका विश्व विख्यात गजल गायक तथा सङ्गीतकर्मी गुलाम अली खान तथा उनका तीन पुस्ताले रेकर्ड गराएको खान परिवारकै पहिलो ऐतिहासिक गीतको रुपमा तयार पारिएको गीत ‘गजल उनकै गीत उनकै’ ले विस्तारै दर्शक तथा स्रोताको ध्यान आकर्षित गर्न थालेको छ । केही साताअघि म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा गुलाम अली खान, उनका छोरा आमीर गुलाम अलि तथा नाति नाजिर गुलाम अलिको स्वर सुन्न सकिन्छ ।
मनोज खड्काद्वारा रचना गरिएको यो गीतलाई मिलन मोक्तानले सङ्गीतबद्ध गरेका छन् । सङ्गीतकार मोक्तानद्वारा नै निर्देशित यो गीतको भिडिओ पनि केही समयअघि काठमाडौंमा आयोजित एक समारोहमा प्रीमियर गरिएको थियो । किरण कँडेलद्वारा सङ्गीतसंयोजन गरिएको यो गीतमा दीप तुलाधरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । यो ऐतिहासिक गीतका सङ्गीतकार मिलन मोक्तान भन्छन्– ‘विश्व विख्यात गजल सम्राट उस्ताद गुलाम अली र उहाँकै तीन पुस्ताले गाइदिनु भएको यो मेरो सङ्गीत तथा भिडिओ निर्देशन रहेको नयाँ नेपाली गीत मेरो लागि ऐतिहासिक सफलता र नेपाली साङ्गीतिक क्षेत्रलाई गुलाम अलीले स्वरबद्ध गरिदिनु भएको एउटा विशिष्ट साङ्गीतिक उपहार सम्झिएको छु ।’
गीतको भिडिओमा मोडल दीपक घिमिरे तथा मिसेस ब्यूटी क्विन नेपाल २०२५ की विजेता वर्षा कुँवरले अभिनय गरेका छन् । भिडिओमा मोनिता कँडेल, सजन लामा, रजनी अधिकारी, रमण चौलागाई, ध्रुव क्षितिज पन्थी, कुमार लामिछाने आदि कलाकरले पनि अभिनय गरेका छन् । सुवास लोकान्द्री तथा टीमले छायाङ्कन गरेको यो भिडिओ अर्जुन खड्काले सम्पादन गरेका हुन् । भिडिओमा समावेश गरिएको कथा भिडिओका निर्देशक मिलन मोक्तानले नै तयार पारेका हन् । साधना कला केन्द्रले यो भिडिओ तयार पारेको हो । भिडिओका कलाकारहरुले लगाएका पहिरनहरु आईआईएफीट स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन, विकुना बुटिक तथा रुबीज कलेक्सनले तयार पारेका हुन् ।
