सौन्दर्य र प्रतिभाकी सङ्गम : शिला गजुरेल

-तुलसी गिरी ‘भावुक’

कुनैबेला रहरको विषय मात्र भएको म्युजिक क्षेत्रले केहीवर्ष यता अकल्पनीय व्यावसायिक फड्को मारिसकेको छ । म्युजिक क्षेत्रसँग सम्बन्धित गीत लेखन, सङ्गीत सिर्जना, म्युजिक एरेञ्ज, गायन, वाद्यवादन, भिडिओ निर्देशन, कोरियोग्राफी, मोडलिङ, छायाङ्कन, सम्पादन जस्ता प्रमुख विधा र अन्य सहायक विधामा समेत लोभलाग्दो व्यावसायिकता मौलाईसकेको छ । यस क्षेत्रले हजारौं सर्जक-कलाकारहरुलाई मान-सम्मान मात्र नभई आर्थिक रुपमा समेत उच्च प्रतिफल दिएको छ । खासगरि क्यासेट-सीडी हुँदै सङ्गीत क्षेत्रले डिजिटल युगमा प्रवेश गरेसँगै नेपाली म्युजिक पनि सहज र निर्वाध रुपले विश्वव्यापी पहुँचमा पुग्यो । जसले गर्दा सङ्गीत-क्षेत्रका सर्जक कलाकारको आर्थिक उपलव्धी असीमित हुँदै गयो । डिजिटल प्रविधिको वरदान नै हो, एकपछि अर्को गर्दै अनेक व्यावसायिक विकल्पहरु आए र एउटा सिर्जनाले पनि सर्जक-कलाकारको जीवनलाई आर्थिक रुपमा कायापलट गर्ने हैसियत राख्न थाल्यो । यसै परिप्रेक्ष्यमा गीत-सङ्गीतका अन्य विधा झैं सामाजिक प्रतिष्ठा र आर्थिक उपलब्धीको दृष्टिकोणले एउटा प्रमुख र लोभलाग्दो विधा म्युजिक भिडिओ मोडलिङसँग सम्बन्धित कलाकार शिला गजुरेलको विषयमा यहाँ चर्चा गरिएको छ ।

शिला गजुरेललाई वर्तमान समयमा अत्यन्तै राम्रो सम्भावना भएकी एक प्रतिभाशाली म्युजिक भिडिओ मोडलको रुपमा चिन्ने गरिन्छ । शिलाको जन्म पिता धन बहादुर गजुरेल र माता शोभा गजुरेलकी जेठी छोरीको रुपमा नुवाकोटमा भएको हो । बाल उमेरदेखि नै नृत्यमा गहिरो अभिरुचि भएकी उनी त्यही बेलादेखि स्कूलका सांस्कृतिक कार्यक्रम लगायत विभिन्न चाडपर्व र विवाह उत्सवमा गाउँ-घरमा आयोजना हुने साङ्गीतिक कार्यक्रमहरुमा नृत्य गरेर सबैलाई चकित पार्थिन्, अग्रजहरुबाट स्याब्बासी पाउँथिन् । नृत्य विधाकी एक होनहार प्रतिभा शिला ९ कक्षामा पढ्दै गर्दा ‘नुवाकोट महोत्सव’ मा आयोजित नृत्य प्रतियोगितामा प्रथम भएकी थिईन् । स्वअभ्यासको भरमा स्कुले उमेरमै प्रतियोगिताको टाइटल जित्न सफल उनी नृत्यप्रति कति समर्पित, लगनशील र पारङ्गत थिईन् भन्ने कुरा यसैबाट पनि सहजै अनुमान गर्न सकिन्छ ।

शिलाको भिडिओ मोडलिङको यात्रा भने काठमाण्डौ प्रवेश पछि सुरु भएको हो । उनले पहिलोपटक २०५७ सालमा रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘उकालीको त्यो पल्लो डाँडा’ मा अभिनय गरेर मोडलिङको औपचारिक यात्रा सुरु गरेकी थिईन् । जसको निर्देशन कुमार गजुरेलले गरेका थिए भने जोडीको रुपमा उनलाई कलाकार मोहन चामलिङले साथ दिएका थिए । ‘झल्को मात्रै आँखामा’ र ‘मायाकै पिर’ बोलका गीत लोकप्रिय भएपछि धेरै साथीभाइ, आफन्त र शुभचिन्तकहरुले उनलाई म्युजिक भिडिओ मोडलिङलाई निरन्तरता दिन हौस्याएका थिए । त्यही हौसलाको उर्जा र आत्मविश्वास बोकेर उनले मोडलिङ कर्मलाई निरन्तरता दिँदै गईन् । आधुनिक, लोकपप, लोकदोहोरी लगायतका विधामा मोडलिङ गरिसकेकी शिलाले हालसम्म १०० भन्दा बढी म्युजिक भिडिओहरुमा आफ्नो कलात्मक नृत्य-अभिनय प्रस्तुत गरिसकेकी छिन् भने उनको सबैभन्दा बढी लोकप्रिय गीत ‘अधुरो सपना-२’ र ‘हाँसेर माग परानै दिन्छु’ हुन् । यी बाहेक शिलाका ‘अधुरो सपना’, ‘तिमीबिना’, ‘जिन्दगी’, ‘तुम बस् मेरे हो’, ‘बरको छायाँले’, ‘लाज शरणम्’, ‘भावना’, ‘अन्तिम पत्र’, ‘गलामा पासो’, ‘कमला समला’ आदि गीत पनि निकै लोकप्रियमा पर्दछन् ।

सौन्दर्य पेशामा पनि विशेष रुचि भएकी शिलाले सीटीईभीटीबाट ब्युटिसियन सम्बन्धी डिप्लोमा कोर्स पूरा गरेकी छिन् । गीत-सङ्गीतसँग सम्बन्धित कार्यक्रमकै सिलसिलामा थाईल्याण्ड, मलेसिया र सिङ्गापुर जस्ता अन्तर्राष्ट्रिय मुलुकको भ्रमण गरिसकेकी शिलाले उनको कामको कदर स्वरूप ‘नव लोकदोहोरी मोडल’ विधामा तेस्रो जिनियश म्युजिक अवार्ड-२०७८, ‘वेष्ट मोडल’ विधामा पाचौं नेपाल म्युजिक एन्ड फेशन अवार्ड-२०२४, ‘वेष्ट मोडल’ विधामा थाईल्याण्डमा आयोजित पाचौं हिमालयन इन्टरनेशनल अवार्ड-२०२५, ‘वेष्ट मोडल’ विधामा ११ औं छायाँछवि तिज म्युजिक अवार्ड-२०८१, मिलाप मासिकद्वारा आयोजित कार्यक्रममा मिलाप तिज सम्मान, वर्ल्डवाइड मिडिया सम्मान आदि जस्ता अवार्ड तथा सम्मान प्राप्त गरेकी छिन् । शारीरिक सुन्दरता, मनमोहक नृत्यकला र प्रचुर अभिनय क्षमत़ा भएकी कलाकार शिला गजुरेल व्यवहारिक रुपमा समेत सबैले रुचाएकी सहयोगी र मिलनसार प्रतिभा हुन् । आगामी दिनमा उनीद्वारा अभिनित अझ आकर्षक र मनोरञ्जक म्युजिक भिडिओहरु आउने अपेक्षा गर्न सकिन्छ ।