दीपकराज बिश्वकर्मा, नारायण गजमेर र मेलिना राईको सहकार्यमा दसैं गीत ‘टिका जमरा’

-सुभाष श्रेष्ठ प्रधान 

नेपाली साङ्गीतिक क्षेत्रमा धेरै रुचाइएका सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक नारायण गजमेर र गायिका मेलिना राईको सहकार्यमा तयार भएको दसैं गीत ‘टिका जमरा’ आउँदो साता सार्वजनिक हुने भएको छ । मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गे पीङका कुराहरूलाई म्युजिक भिडिओमा देखाइएको छ। भिडिओमा निर्देशक दीपकराज विश्वकर्माले आफूभन्दा ठूलाबडाकको आशीर्वाद र माया साट्ने विशेष दिनको रुपमा दसैंलाई  चित्रण गरेका छन् ।

दुर्गा खाती गजमेरको प्रस्तुति रहेको यस भिडिओमा सुरेश कोली र अस्मिता जुरेलीले अभिनय गरेका छन्। भिडिओमा छायाङ्कन विशाल थापा र रमेश दियालीको, कोरियोग्राफी रोशन विश्वकर्माको र सम्पादन दिनसनको रहेको छ । गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक दिएका हुन् । ‘टिका जमरा’ म्युजिक भिडिओ आउँदो साता सार्वजनिक गरिँदैछ।

प्रवासमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्ने श्रष्टा / गायक नारायण गजमेरले आधा दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्। २०१६ मा सार्वजनिक गरिएको एल्बम ‘निश्चल’ उनको पहिलो साङ्गीतिक कोसेली रहेको थियो । जहाँबाट नेपाली गीत सङ्गीतमा पहिलो कदम चाल्दै हालसम्म पनि अनवरत रुपमा निरन्तरता दिँदै आइरहेका छन्। उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्मको गायकको रूपमा समेत चिनिन्छन् । २५० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्ममा नेपाली गीत सङ्गीतलाई पुर्याउने कामको सुरुआत उनैले गरेका हुन्। पछिल्लो समयमा उनका रातो रिबन र चोर्यो मायाले स्रोता/दर्शकको मन र मुटुमा बस्न सफल भएका छन्। चोर्यो मायाको अपार सफलतापछि उनी विभिन्न स्टेज प्रोग्रामहरुमा पनि व्यस्त रहँदै आएका छन्।