गीतकार खतिवडाको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक

गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत ‘जमाना आजकल’ को भिडिओ हालै सार्वजनिक भएको छ । गीतले शीर्षककै झल्को दिनेगरि वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । गीतमा सामाजिक मूल्य–मान्यतामा आएको रूपान्तरणलाई चिरफार गरिएको छ ।

जीवन्त स्वर र सङ्गीतको समिश्रण रहेको गीतमा मनोज सङ्सोन राईको सङ्गीत र म्युजिक एरेन्ज रहेको छ । स्वरमा भने स्वयं मनोज सङ्सोन राईलाई  सुरेश पायल राई, बिनुसा राई, मिरा फियाक र मैया खड्काले साथ दिएका छन् । गीतको भिडिओ मार्फत आफ्नो पहिचान जोगाउन सन्देश दिन खोजिएको छ । गीतले संस्कृति, पहिरन र पहिचानको प्रश्न उठान गरेको छ । जसमा  दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई  फेशनले विस्थापित गरिरहेको विषय उठाइएको छ । ‘दौरा र सुरुवाल टोपीलाई फेसनले डाँडो कटायो’ वा ‘गुन्यू चोली फरिया फेसनले डाँडो कटायो’ भन्ने पङ्क्तिहरू केवल लुगाको कुरा मात्र होइनन्, यी शव्दले मौलिकता र पहिचानको शंकटलाई प्रतिविम्बित गरेको छ ।

त्यस्तै, ‘ड्वाङ् ड्वाङ् र डुङ डुङ करायो, खैंजडी र डम्फू हरायो’ भन्ने शब्दले लोक वाद्य र संस्कृति हराउँदै गएको र अहिले जस्ता पनि गीतहरू आउने गरेको अवस्थालाई व्यंग्य गर्दै ऐतिहासिक कला र संस्कृतिलाई पनि बिर्सनु हुँदैन भन्ने सन्देश दिएको छ । नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक गरिएको यस म्युजिक भिडिओमा सहारा कोईराला, राहुल श्रेष्ठ, अस्मिता राना लगायतका कलाकारहरुकोअभिनय रहेको छ ।