-सुभाष श्रेष्ठ प्रधान
ब्लक ब्लस्टर चलचित्र ‘एन्जिला’ का दुई बालकलाकार ईनोभ गुरुङ र नमिक्षा मगरको भर्खरै मात्र ‘रोधीघर’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक भएको छ। चलचित्र एन्जिलामा यी बालकलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। चलचित्र क्षेत्रमा निकै नै सम्भावना बोकेका यी दुई बाल कलाकारले आफ्नो गुरुङ र मगर समुदायको भेषभूषामा सजिएर कौडा नृत्य प्रस्तुत गरेका छन्। बाल कलाकार ईनोभ गुरुङले कार्टुन क्रुजबाट नृत्य प्रशिक्षण लिएका हुन् भने एक्टिङमा गिरिराज घिमिरेलाई आफ्नो गुरुको रुपमा लिन्छन् उनी। पढाइमा पनि उनी जेहेनदार विद्यार्थीको रूपमा चिनिन्छन् । उनी भन्छन् – ‘पढाई सँगसँगै नाटक गर्न र हेर्न, भ्रमण गर्न, किताब पढ्न र नृत्य गर्न मनपर्छ । मलाई भविष्यमा एउटा कुशल कलाकार बन्न मन छ ।’ ईनोभ गुरुङले हालसम्म थुप्रै टिभिसी, लघु चलचित्र, स्टेज कार्यक्रम र चलचित्रहरूमा आफ्नो कला प्रदर्शन गरिसकेका छन्।
पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको यस गीतमा साहिल स्वयंले सङ्गीत दिएका छन् । साहिल लिम्बू र रोजिना बस्नेतको स्वरमा सजिएको यस गीतको भिडिओ विजय मगरले निर्देशन गरेका छन् । म्युजिक भिडिओ सनम तामाङ र उनको टिमले खिचेको हो भने सनमले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगरले पनि अभिनय गरेका छन्। भिडिओमा निर्देशक विजय मगरले बाल्यकालको प्रेम कथालाई जीवन्त बनाएका छन् । जसमा सुमिन गुरुङ र चाहना मगरलाई रोमान्टिक प्रेमी जोडीको रूपमा प्रस्तुत गरिएको छ l भिडिओमा सन्जिला सुमित्राको कोरियोग्राफी रहेको छ ।
