मध्यपश्चिम विश्वविद्यालय साहित्य समाज र सिर्जनशील विद्यार्थी सञ्जाल सुर्खेतको आयोजनामा कर्णाली प्रदेशमा पहिलोपटक गजल गायन भव्य रूपमा सम्पन्न भएको छ । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको गजल गायन कार्यक्रममा विश्वकीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ छ जना गजलकारका गजललाई सङ्गीतबद्ध गरेर प्रत्यक्ष गजल गायनका माध्यमबाट गुञ्जिएका हुन् ।
गजल गायन कार्यक्रममा रमेश सुवेदीको प्यारो कर्णालीय, ऋषि शर्मा “सुदामा”को घरी पाउ हेर्छ, महेन्द्र चन्द्र “महासागर”को मेरो संसार, धिरेन अनुपमको मेरो आँखाको वरिपरि, निराजन विष्टको धेरै लजाएर तिमी, लिला ढकाल पोखरेलको भेटिन्छन् जीवन बोलका गजलहरू प्रस्तुत गरिएका थिए ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न यस ऐतिहासिक गजल गायन कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति थियो । सिर्जनशील विद्यार्थी सञ्जालका अध्यक्ष निराजन शाहीले अध्यक्षता गरेको कार्यक्रमको संयोजन तथा सहजीकरण साहित्य समाजका अध्यक्ष दीपक उपाध्यायले गरेका थिए । गजल गायनमा सन्तोष श्रेष्ठलाई वाद्यबादनमा सुबास गौतमले तबला, ज्ञान बहादुर नेपालीले बाँसुरी र रोहित सिंहले गितार बजाएर साथ दिएका थिए । गजल गायन कार्यक्रममा प्रस्तुत भएका गजलकार,सङ्गीतकार, गायक र वाद्यबादकलाई सम्मान गरिएको थियो ।
