-तुलसी गिरी ‘भावुक’
प्रसिद्ध गीतकार तारा अधिकारीको गीत ‘लेखान्त, कल्पना नै नगरेको’ को भिडिओ रिलिज भएको छ l गीत रचना सँगसँगै भिडिओ निर्देशनलाई पनि अगाडि बढाईरहेकी सर्जक ताराकै निर्देशनमा यो भिडिओ छायाङ्कन भएको हो l अत्यन्तै मननीय र सकारात्मक सन्देशयुक्त यो म्युजिक भिडिओले सामाजिक रुपान्तरणमा धेरै महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ l बिबाह गरेको छोटो समयमै छोराको देहान्त भएपछि ससुराले अर्कै युवकसंग बुहारीको विवाह गरिदिएको हृदयस्पर्शी कथा भिडिओमा प्रस्तुत गरिएको छ l
यो कथा पूर्णतया काल्पनिक नभए पनि कलिलो उमेरमा विधवा भएका महिलाहरुप्रति सहानुभूति राख्नुको साटो उल्टै अनेक लाञ्छना लगाएर थप प्रताडित गर्ने प्रवृत्ति हाम्रो समाजमा अझै कायमै छ l विधवा बुहारीप्रतिको ससुराको चिन्ता र उदारता प्रस्तुत गरेर यस म्युजिक भिडिओले नारी अधिकारको बारेमा पनि सबैलाई सचेत गराएको छ l भिडिओमा अर्को गज्जबको कुरा के देखाईएको छ भने, विवाह अघि जुन युवकले मन पराएको हुन्छ विधवा भएपछि ‘अहिले पनि तिमीलाई उत्तिकै प्रेम गर्छु’ भन्दै उही युवक हात माग्न आउँछ l परिस्थितिले टुटाएको प्रेम लेखान्तले पुन: जोडिदिन्छ l जुन घटना कल्पना भन्दा बाहिरको हुन्छ l
वसन्त सापकोटाको सङ्गीत र पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको यस गीतमा प्रोसेस पाण्डे र समीक्षा अधिकारीको स्वर रहेको छ भने भिडिओमा इलियास शैख, अनिषा अधिकारी, अनुजा अधिकारी, सुरज त्रिखत्री र रियान्सी थापा (बाल कलाकार) ले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l जसमा मोहन पराजुलीको सिनेमाटोग्राफी र नरोत्तम पाण्डेको सम्पादन रहेको छ l भिडिओ सुनौलो तारा मोशन पिक्चर्सको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l
गीत रचनाका अतिरिक्त निर्देशन र अभिनयमा समेत आफ्नो बहुआयामिक क्षमता प्रदर्शन गर्दै आएकी सर्जक तारा अधिकारीका गुलेलीमा, लुकिलुकि चोरिचोरि, लाली ओठैमा लगायतका गीत सर्वाधिक लोकप्रिय छन् l
