विश्व सङ्गीत दिवसको अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा गीतकार निराज सिग्देलको गीति एल्बम ‘निरासक्त’को विमोचन भएको छ । जमलस्थित साँस्कृतिक संस्थानमा शनिबार आयोजित विमोचन कार्यक्रममा कानूनबिद,गीतकार एवं गायक डा.भीमार्जुन आचार्य,वरिष्ठ सङ्गीतकार राजु सिंह,गायक स्वरुपराज आचार्य,कवि मुरारि सिग्देल लगायतले सो कृतिको संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा डा.भीमार्जुन आचार्यले एल्बममा समावेश गीतहरुले एल्बमलाई सार्थक बनाएको बताए । उनले गायकी र सङ्गीत दुबैको कम्बिनेशन सङ्गीतकार विपिनमा भएको बताए । सङ्गीतकारले गीतलाई न्याय गरेको भन्दै गीतका थीम उपल्लो स्तरको भएकोमा जोड दिए । अर्का बक्ता राजुसिंहले निरासक्त टीमका सबैको कार्य मिहेनतपूर्वक भएको हुँदा एल्बम उत्कृष्ट भएको बताए । सङ्गीतकार विपिन घिमिरेले एल्बम कसरी आयो भन्ने बारेमा बताए ।
गीतकार निराज सिग्देलले २०४४ सालदेखि गीत लेख्न थालनी गरेको बताउँदै असहज व्यक्तिहरुको लागि गीत लेखेको र राष्ट्रियताप्रति संवेदनशील भएकोले राष्ट्रिय गीत लेखेको बताए । देशको परिस्थितिले दुखी भएर मन नपरेको कुराप्रति गीत लेख्ने आफ्नो प्रयास रहेको उनले जानकारी दिए । आफुले सिद्धहस्त भएर नभै रहरले गीत लेखेको पनि उनले खुलासा गरे । गायक स्वरुपराज आचार्यले सिकाईमा उमेर र योग्यता नचाहिने भन्दै सङ्गीत संगतबाट प्राप्त हुने कुरा बताए । उनले भने- ‘म सङ्गीतमा धैर्य आवश्यक ठान्छु । यो धैर्यता विपिन घिमिरेमा छ । ‘उनी आफ्ना पिता भजन शिरोमणि भक्तराज आचार्यको स्मरणमा भावुक पनि भएका थिए । गीतमाथि मुरारि सिग्देलले समीक्षा गरे । पृथक सङ्गीत र उचित शब्द चयनले गीत श्रवणीय भएको बताउँदै उनले गीतकारलाई अझै सशक्त गीत सृजना गर्न आग्रह गरे । सङ्गीतकार सङ्घका अध्यक्ष अष्ट लामाले शुभकामना मन्तव्य दिंदै स्रष्टाको अधिकारको लागि अझै लड्नुपर्ने परिस्थिति रहेको बताए ।
कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक किरणबाबु पुन, नियात्राकार प्रदीप सापकोटा,अभिनेत्री शारदादेवी सिलवाल लगायतले शुभकामना मन्तव्य राखे । राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । घिमिरेले कविताको शैलीमा स्रष्टा र सिर्जना सगरमाथा भन्दा उच्च हुने भनाई राखे । कार्यक्रममा स्वरूपराज आचार्य र रामकृष्ण ढकालको स्वर रहेका दुई गीतको श्रब्यदृश्य सामग्री देखाइएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट अध्यक्ष घिमिरेले विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । सार्वजनिक भएको गीति सङ्ग्रहमा ६ वटा गीत समावेश छन् । जसमा आचार्य, ढकाल सँगै शीला विष्ट अलि र विपिन घिमिरेको स्वर रहेको छ । कार्यक्रम सञ्चारकर्मी एवम् गीतकार लोकराज अधिकारीले सञ्चालन गरेका थिए ।
