२५ वर्ष पछि नयाँ स्वाद र स्वरुपमा ‘सबैलाई छोडेर’

लोकप्रिय गायक सज्जु मानन्धरको स्वरमा २५ वर्ष अघि सार्वजनिक भएको गीत ‘सबैलाई छोडेर’ पुन: नयाँ स्वाद र स्वरुपमा रिलिज गरिएको छ। विशिष्ट गीतकार/कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सोमबार काठमाण्डौको रञ्जना सिनेप्लेक्समा आयोजित एक भव्य समारोहमा सो गीतको भिडिओ रिलिज गरिएको हो । भिडिओ दिल बहादुर मानन्धरले आफ्नी स्वर्गीय पत्नी गणेश देवी मानन्धरको स्मृतिमा प्रस्तुत गरेका हुन् ।

डा. राजु मानन्धरले रचना गरेको यस गीतको सङ्गीत, सङ्गीत संयोजन, गायन र भिडिओ निर्माणसम्म २५ वर्ष अघिकै टिमको सहकार्य रहेको छ । जस अनुसार गीतमा प्रसिद्ध सर्जक जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजन र सज्जु मानन्धरको स्वर रहेको छ भने सर्वाधिक व्यस्त एवं लोकप्रिय म्युजिक भिडिओ निर्देशक कृष्ण देव रुपाखेतीले भिडिओको निर्देशन गरेका छन् । प्रियंका कार्की र बिन्दे महर्जनको अभिनय रहेको यस म्युजिक भिडिओका छायाँकार उत्सव दाहाल हुन् भने विष्णु खड्काको सम्पादन रहेको छ । भिडिओ सफल मोशन पिक्चर्सको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । २५ वर्ष पछि फेरि उही गीतको भिडिओ निर्देशन गर्न पाउँदा नौलो र रोमाञ्चकारी अनुभव भएको बतागउँदै विविध कारणले २५ वर्ष अघिकी नायिकालाई भने भिडिओमा समावेश गर्न नसकिएको कुरा निर्देशक रुपाखेतीले जानकारी गराएका छन् ।

समारोहमा सङ्गीतकार एवं सङ्गीत संयोजक जुगल डंगोलले २५ वर्ष अघि ‘स्याड’ भावमा कम्पोज गरिएको यो गीत अहिले ‘रोमान्टिक’ भावमा आएको बताएका छन् । ‘हरेक सिर्जनामा हामीले आफ्नो अनुभव र क्षमताले भ्याएसम्म स्रोताको मन जितोस् भनेर नै मेहेनत गरेका हुन्छौं । यो गीत पनि सबै स्रोतालाई मन पर्ने छ भन्ने कुराप्रति म विश्वस्त छु’ सङ्गीतकार डंगोलले भने। प्रेम र समर्पण भावमा रहेको यस गीतको भिडिओमा अभिभावकले आफ्नी प्रेमिकालाई बुहारीको रुपमा स्वीकार नगर्ने र आफूखुशी गरेमा घरबाट निस्कनुपर्ने चेतावनी दिएपछि युवक सबैकुरा त्यागेर प्रेमिका भेट्न गएको र रातको समयमा प्रेमिकालाई भगाएको दृश्य देखाईएको छ ।