अहो ! क्या छ बान्की,
तिमी पोखराकी
भनूँ रूप खानी,
तिमी पोखराकी
१७ जेठ शनिबार देवेन्द्र के. सी. ‘देवु’का यी शब्द विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सुमधुर सङ्गीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बनेको थियो । पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना भएको ‘देवेन्द्र के. सी. ‘देवु’ गजल साँझ’मा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित प्रस्तुत गरेका थिए ।
बोकेर फूलपाती,
स्यूँदोभरि सजाई
को धाउँदै छ दिलमा,
छमछम चुरा बजाई
सन्तोषलाई बाँसुरीमा टेकबहादुर राना र तबलामा मिलन गिरीले साथ दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गरेको सो कार्यक्रम भव्य, सभ्य र उत्कृष्ट भएको समाजका महासचिव असफल गौतमले बताए । कार्यक्रमका संयोजक गजलकार, गजल अभियन्ता एवं समालोचक घनेन्द्र ओझाले गजलकार देवेन्द्र के. सी. ‘देवु’ र सङ्गीतकार, गायक सन्तोष श्रेष्ठको छोटो परिचय दिँदै के. सी. श्रेष्ठ र आफू ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानमा रहेको र सोही अभियानको एउटा महत्त्वपूर्ण पाटो यो कार्यक्रम रहेको बताए । ओझाले यो कार्यक्रम पोखरा वा गण्डकी क्षेत्रका लागि मात्र नभएर नेपाल र नेपाली गजल/गजल सङ्गीतकै लागि महत्त्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गरे ।
साहित्यकार सरुभक्तले नेपाली गजलमा पछिल्लो समय शास्त्रीयताको खोजी र अभ्यास बढिरहेका बेला यस्तो अर्थपूर्ण कार्यक्रम पोखरामा हुनुले गौरव अनुभूति भएको बताए । उनले अभियानलाई स्वागत गर्दै पूर्ण सफलताको कामना गरे । श्रेष्ठले यो कार्यक्रम गण्डकी प्रदेशकै पहिलो भएको सुनाए । लोक गायिका हरिदेवी कोइरालाले गजलकार देवुको साहित्यिक जीवनबारे उल्लेख गर्दै गजल गायन सफल र उत्कृष्ट रहेको बताइन् । गायक श्रेष्ठले यो अभियानको १ वर्ष पूरा भएको र यसबीचमै आधा दर्जन गजल गायनका कार्यक्रम सम्पन्न भइसकेका बताउँदै गजल गायन अभियान सातै प्रदेशमा आयोजना गर्ने उल्लेख गरे । अनेसासका केन्द्रीय सदस्य दुर्गा शाह ‘बाबा’ले यस्तो महत्त्वपूर्ण कार्यक्रम पोखरामा हुनु खुसीको खबर भएको बताउँदै देवुको साहित्ययात्राको सफलताको कामना गरे ।
