नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले स्थापित ‘हरितारा चलचित्र पुरस्कार’ भिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गरिने भएको छ । परिवर्तन नेपालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा सार्वजनिक गरेको हो l परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष एवं हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा गत वैशाख ४ गते बसेको बैठकले २०८०/०८१ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी अभिनेता टिका पहारी र वरिष्ठ चलचित्रकर्मी अभिनेत्री रेजिना उप्रतीलाई अर्पण गर्ने निर्णय गरेको छ ।
वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी) ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोग राखि स्थापना गर्नुभएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो । ४ दशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हकहितका साथै नेपाली कला संस्कृति एवं नेपालको गौरव देश विदेशसम्म पुऱ्याउन महत्वपूर्ण योगदान गर्नुभएकाले अभिनेता टिका पहारीलाई २०८० सालको र २ दशक भन्दा बढी समयदेखि नेपाली चलचित्र उद्योगमा अभिनय कलाको माध्यमबाट चलचित्र र पेशाकर्मीका हकहितमा काम गर्दै आउनुभएकी अभिनेत्री रेजिना उप्रतीलाई २०८१ सालको हरितारा चलचित्र पुरस्कार अर्पण गर्ने निर्णय भएको जनाईएको छ । लिखत सहित जनही २५,०००।- राशीको थैली पुरस्कृत व्यक्तित्वहरुलाई अर्पण गरिने छ। यस अघि यो पुरस्कार बसुन्धरा भुसाल, भुवन चन्द, कृष्ण मल्ल, मदनदास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला, रेखा थापा, दिनेश डि.सी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपकराज गिरी, दिपाश्री निरौला आदिलाई अर्पण गरिएको छ ।
बैठकले यसै वर्षदेखि नगद रु. १०,०००।- राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार पनि अर्पण गर्ने पनि निर्णय गरेको छ। स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरिएको छ । परिवर्तन नेपालको वैशाख ५ गतेको बैठकले दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार कलाकार तथा अधिवक्ता कागण ढुंगाना र निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रती रौनियारलाई अर्पण गर्ने निर्णय गरेको छ। पुरस्कारको राशी जनही रु. १०,०००।- रहेको छ ।
परिवर्तन नेपालको सोही बैठकले नेपाली चलचित्रको विकाश, विस्तार र प्रबर्धनमा क्रियाशील रही चलचित्र निर्माण, निर्देशन र अभिनय गर्दै आउनुभएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई परिवर्तन-चलचित्रकर्मी विशेष सम्मान २०८१ ले सम्मानित गर्ने निर्णय गरेको छ । साथै सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, सञ्चारकर्मी कृष्ण भुसाल र सञ्चारकर्मी कमला जोशीलाई परिवर्तन नेपाल चलचित्र पत्रकारिता सम्मान २०८१ अर्पण गर्ने निर्णय गरेको छ। पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, शान्तिप्रिय रहनुभएको समितिले गरेको हो ।
२०८२ साल जेष्ठको पहिलो हप्तामा विशेष समारोहको आयोजना गरी पुरस्कार तथा सम्मान अर्पण गरिने छ । समारोह आयोजनाका लागि निर्देशक देवेन्द्र पाण्डेलाई कार्यक्रमको संयोजन र निर्देशक माधव राज खरेललाई कार्यक्रमको सञ्चालनको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
