चलचित्र बिकाश बोर्डद्वारा हालै आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा २०८० को ‘सर्वोत्कृष्ट आदिबासी चलचित्र’ को पुरस्कार प्राप्त गर्न सफल चलचित्र लोजिमाको यही वैशाख १३ गते धरानमा विशेष प्रदर्शन हुने भएको छ l चलचित्रका निर्देशक सागर सुब्बाका अनुसार १३ गते शनिबार फ्रेन्डस सिनेमा बराह मलमा प्रदर्शन हुने निश्चित भएको हो l नायिका पबी तेम्बे लिम्बु आयोजक रहेको उक्त विशेष प्रदर्शनमा याक्थुङ चलचित्रकर्मी सङ्घ धरान, सुदिप थक्लुङ, निर्मला सुहाङ कन्दङवा लगायतका व्यक्ति विशेष सहयोगीको रुपमा रहेको थाहा भएको छ l
प्राप्त जानकारी अनुसार हालसम्म निर्माण भएका लिम्बु भाषाका चलचित्रहरु मध्येबाट लोजिमाले मात्र नेपाल सरकार, चलचित्र बिकाश बोर्डद्वारा राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ l हालसम्म नेपाल र भारतका गरी कूल ४५ स्थानमा १ सय १० भन्दा बढी शो भईसकेको लोजिमाले दर्शकको अपार माया, साथ र सद्भाव पाएको छ l लोजिमाले हालसम्म १२ औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ), अप्सना म्युजिक एण्ड फिल्मस अवार्ड, दोस्रो राष्ट्रिय आदिवासी म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१, एफ. एल. एफ. अवार्ड, बिराट म्युजिक एण्ड फिल्मस् अवार्ड, भारतको कोलकातामा आयोजना भएको इन्डो नेपाल फेस्टिवल लगायत करिव एक दर्जन अवार्ड र विभिन्न समारोहहरुमा १६ विधामा अवार्ड र पुरस्कारहरु प्राप्त गरिसकेको छ l
लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् l
चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेखेका हुन् l चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l
यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							