नेपाल चलचित्र कलाकार सङ्घले लामो समय अघिदेखि आफ्नो पेशागत कर्ममा क्रियाशील रहेका पत्रकार र कलाकारहरुलाई सम्मान तथा पुरस्कारले विभूषित गरेको छ । हिजो राजधानीमा आयोजित सङ्घको २० औं साधारण सभामा पत्रकार र कलाकारहरु सम्मानित/पुरस्कृत भएका हुन् । नेपाली चलचित्रमा लामो समय निरन्तर अभिनयकर्म गरेर योगदान पुर्याएका कलाकारहरुको कदर स्वरुप पुरस्कार/सम्मानको थालनी गरिएको कुरा सङ्घका अध्यक्ष मोहन निरौलाले बताउनुभएको छ ।
समारोहमा वि.सं. २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत ५ दशक देखि अभिनय गर्दै आउनुभएका चरित्र अभिनेता मुकुन्द किशोर भट्टराईलाई, वि.सं. २०७९ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार ४ दशकदेखि अभिनय गर्दै आउनुभएका चरित्र अभिनेता लय संग्रौलालाई र वि.सं २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत ४ दशकदेखि अभिनय गर्दै आउनुभएका अभिनेता पुरण जोशीलाई अर्पण गरिएको छ । नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी जनही रु. ७५,०००।– (पचहत्तर हजार) रहेको छ। यसअघि यो पुरस्कारबाट नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा लगायतका विशिष्ट कलाकारहरु पुरस्कृत भईसक्नुभएको छ।
यसैगरी रमेश बुढाथोकी अध्यक्ष रहेको कार्यकाल वि.सं २०६८ मा संघका संस्थापक संयोजक स्व. शान्ति मास्केको स्मृतिमा स्थापित स्व. शान्ति मास्के स्मृति पुरस्कार विगत ४ दशकदेखि अभिनय गर्दै आउनुभएकी अभिनेत्री गौरी मल्ललाई अर्पण गरिएको छ । स्व. शान्ति मास्के स्मृति पुरस्कारको राशी रु. ५६,०००। (छपन्न हजार) रहेको छ । यसअघि यो पुरस्कारबाट मदनदाश श्रेष्ठ, आर पि पन्त, मिथिला शर्मा बोहरा लगायतका विशिष्ट कलाकारहरु पुरस्कृत भईसक्नुभएको छ ।
केही वर्ष अगाडि दिवंगत हुनुभएका कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहनुभएका कलाकार र लक्ष्मी शर्माले संघको रविन्द्र खड्का अध्यक्ष रहेको कार्यकालमा संघलाई प्रदान गर्नुभएको तीन लाख रुपैयाको अक्षयकोशबाट प्राप्त व्याजबाट यस वर्षदेखि रु. १०,००० । (दश हजार) को स्व. गोपाल राउत स्मृति पुरस्कार अर्पण गरिने निर्णय अनुरुप वि.सं २०८० सालको गोपाल राउत स्मृति पुरस्कार विगत ४ दशकदेखि अभिनय गर्दै आउनुभएका कलाकार रामकाजी घिमिरेलाई अर्पण गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघले सालिन्दा पदान गर्दै आईरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गरिएको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको अध्यक्षत़ा एवं चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गोपाल ढकाल ‘छन्दे’ ले सञ्चालन गर्नुभएको थियो ।
