एआई, सङ्गीत र सर्जकहरुको भविष्य

डा. चन्द्र गिरी
(नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका)

सन् २०२३ मा एआइले बनाएको गीत ‘ड्रेक एण्ड विकेन्ड’ भाइरल भयो । विगत एक वर्षमा मात्र एआइले पूर्ण वा आंशिक रुपमा बनाएका सयौं गीतहरु बजारमा आएका छन् । एआइले कस्तो गीत बनाउँदो रहेछ त ? भनेर सुन्न र बुझ्न उत्सुक श्रोताहरु धेरै छन् ।

एकजना साथीले ओरिजिनल गीत र एआइले बनाएको त्यही गीत सुनेर आफ्नो मन्तब्य दिनु भन्नुभयो । ती दुई गीतहरु सुन्दै गर्दा एआइले बनाएको गीतले ठुलै फड्को मारेको जस्तो लाग्यो । म जस्ता धेरैजसो श्रोताहरुलाई झट्ट सुन्दा फरक छुट्याउन गाह्रो पर्ने रहेछ । मलाई लग्यो, म्युजिक क्षेत्रमा एउटा ठुलै क्रान्ति ल्याएको रहेछ यो प्रविधिले । तर दोहोर्याएर वा तेहेर्याएर र अलिक ध्यान दिएर सुन्यो भने फरक छुट्टिने रहेछ । एआईले बनाएको गीतमा जीवन छैन जस्तो लाग्यो । त्यहाँ ‘फ़िलिङ्’ भेटिन मैले । ‘इन्स्ट्रुमेन्टल’ मा भने फरक छुट्याउन सकिन मैले ।

यति भन्दा भन्दै पनि यो प्रविधिले बल्ल पखेटा फैलाउन थालेको छ । आउँदा दिनहरुमा फ़िलिङ् सहितका गीतहरु आउने कुरामा कुनै द्विविधा छैन । मानवले जस्तै सङ्गीत सिर्जना गर्न मात्र नभई नयाँ शैलीको सङ्गीत उत्पादन गर्न सक्षम हुन धेरै समय लाग्ला जस्तो लाग्दैन । यो प्रविधि नयाँ भने हैन । त्यसो त बिटल्स ग्रुपले सन् १९६० मा  गीत गाउन सुरु गर्नुभन्दा अगावै एआइ प्रयोग गरेर गीत/सङ्गीत  बनाउन थालिएको थियो ।  सन् १९८० मा ‘कम्प्युटर म्युजिक जर्नल’ ले एउटा विशेषाङ्क नै निकालेर यी विषयगत कुराहरु प्रकाशित गरेको थियो ।  तर विगत २-३ वर्षमा भने यसले तहल्का नै मचाएको छ ।

आजको दिनमा एआइ म्यूजिक प्लाटफर्महरू, स्ट्रीमिङ सेवा र म्युजिक प्रोडक्सन टुलहरूमा एआइ व्यापक रुपमा प्रयोग हुन थालेको छ । यसले गीत लेखन, कम्पोजिङ, मिक्सिङ र मास्टरिङ प्रक्रियालाई धेरै छिटो र प्रभावकारी बनाएको छ । एआइले बनाएको गीत सुनेर एकजना जर्मनीकी श्रोताले ‘RIP म्युजिक इन्डस्ट्री’ भनेकी थिइन् । अर्का एकजना न्यु योर्कका श्रोताले ‘स्केरी’ भनेका थिए । तर पनि एआइले सङ्गीत क्षेत्रमा ल्याएको परिवर्तनलाई हेर्दा यसका फाइदा र चुनौतीहरू दुबै भएको महसुस गर्न सकिन्छ ।

१. सङ्गीतकारहरूले एआइलाई एक सहयोगी उपकरणको रूपमा प्रयोग गर्न थालेका छन् । एआइले कलाकारलाई सुझाव दिन सक्छ, बीट्स बनाउन सक्छ र एक प्रकारको सृजनात्मक सहायकको रूपमा काम गर्छ । यो प्रविधिले सङ्गीतकारलाई विभिन्न शैली, धुन र संरचनासँग खेल्न सजिलो बनाउँछ, जसले गर्दा उनीहरूलाई आफ्नो सृजनात्मक क्षमताहरूको सीमा विस्तार गर्न मद्दत पुर्‍याउँछ ।

२. परम्परागत रूपमा गीत रचना, मिक्सिङ, र मास्टरिङको प्रक्रिया धेरै समय लाग्न सक्थ्यो । तर, एआइ उपकरणहरूले यो प्रक्रिया निकै छिटो बनाएका छन् । सङ्गीतकारले बीट्स बनाउन वा गीत लेख्न घण्टौं बिताउनुको सट्टा एआइबाट केही मिनेटमै सुझावहरू लिन सक्छन् ।

३. एआइले विभिन्न साङ्गीतिक शैलीहरूलाई मिश्रण गरेर नयाँ प्रकारको धुन र गीत उत्पादन गर्न सक्छ । यसले कलाकारहरूलाई उनीहरूको आफ्नै शैलीमा नयाँ प्रयोग गर्न मद्दत पुर्‍याउँछ । उदाहरणका लागि पप र शास्त्रीय सङ्गीतको मिश्रण वा हिपहप र इलेक्ट्रोनिक सङ्गीतलाई मिक्स गरेर नयाँ धुनहरू बनाउन एआइले ठुलो भूमिका खेल्न सक्छ ।

४. एआइद्वारा सिर्जित सङ्गीतले केही विवादहरू पनि निम्त्याएको छ । प्रमुख चुनौती भनेको ‘कपि राईट’ को सवाल हो । यदि एआइले कुनै गीत सिर्जना गर्छ भने यसको श्रेय कसलाई जान्छ ? यो एक जटिल कानूनी प्रश्न हो, जसले सङ्गीत उद्योगलाई चुनौती दिइरहेको छ ।

५. सङ्गीत उद्योगमा एआइको एक नयाँ र चाखलाग्दो प्रयोग भनेको पुराना गीतहरूलाई पुन: निर्माण गर्नु हो । उदाहरणको लागि, नारायण गोपालका पुराना गीतहरूलाई एआइको मद्दतले पुनः मिक्स र रेस्टोरेसन गर्न सकिन्छ, जसले गर्दा ती गीतहरू नयाँ पुस्ताको लागि अझ बढी आकर्षक हुन्छन् ।

६. भविष्यमा एआइले सङ्गीत सिर्जनामा अझ ठूलो भूमिका खेल्ने आशा गरिएको छ । कतिले त अनुमान गरेका छन् कि एकदिन एआइ हिट गीतहरू सिर्जना गर्न सक्षम हुनेछ ।  सङ्गीतमा एआइको प्रयोगले स्पष्ट रूपमा उद्योगमा नयाँ अवसरहरू ल्याएको छ, तर यसले नैतिक, कानूनी र सांस्कृतिक चुनौतीहरू पनि खडा गरेको छ ।