आफ्नै सङ्गीत गुरुसँग युगल गायनमा आइस्मा

गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनिक भएको छ l वरिष्ठ सङ्गीत साधक नरहरि आईस्माका सङ्गीत गुरु हुन् l गुरु नरहरिकै शब्द/सङ्गीत रहेको सो गीत आईस्माको जीवनकै पहिलो गीत हो l

लोक शैलीमा पप आधुनिकखाले यस गीतमा आईस्माको स्वर निकै जमेको देखिन्छ l हुन त अत्यन्तै खारिएका कुशल गायक नरहरि प्रेमीसँग युगल गायन गर्नु आईस्माको लागि निकै चुनौतिको कुरा हो, तर पनि उनले आफ्नो तर्फबाट भरपुर प्रयास गरेकी छिन् l गुरुको राम्रो निर्देशनले होला उनी नयाँ गायिका भए पनि गीत सुन्दा नयाँ जस्तो कत्ति पनि भान हुँदैन l

गीतमा सङ्गीत संयोजकको भूमिका सञ्जय हमालले निभाएका छन् l वरिष्ठ सङ्गीतकर्मीहरुको वरिष्ठत़ा गीतका वाद्यवादनहरुको सललल बगेको सुमधुर सुरम्यताबाट प्रष्ट झल्केको महसुस गर्न सकिन्छ l हुन त गोविन्द सोनीको मिक्सिङ र माष्टरिङको कुशलताले पनि सुनमा सुगन्ध थपेको हुन सक्छ l रेकर्डिस्ट अजय देव अधिकारीको रेकर्डिङ् रहेको ‘तिमी नै हौ सास मेरो’ गीत A Level स्टुडियोमा रेकर्ड गरिएको हो l सरल खालको भिडिओ भएता पनि आफ्नो सम्पादन कलाले सिंगार पटार गरेर सुन्दर बनाउने कार्य गरेका छन् राजकुमारले l श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको यो म्युजिक भिडिओ NARAHARI PREMEE युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l

नरहरि प्रेमी आफैंमा अत्यन्तै कुशल सर्जक तथा गायक हुन् l उनको बहुआयामिकता यो गीतमा प्रष्टसँग झल्किएको छ l झट्ट सुन्दा सरल र सजिलो जस्तो लागेता पनि गीतमा विविधता पनि उत्तिकै छ र यसको बाबजुद पनि गीत मज्जासँग बगेको छ l अझ भनौं सुन्न थालेदेखि नसकिंदासम्म सुनिरहुँ लाग्ने बनेको छ गीत l