हरिओम मङ्गोलको ‘माया लाउनै हतार भो’ सार्वजनिक

गायक एवम् मोडल हरिओम मङ्गोलले आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारेको रोमान्टिक शैलीको डान्सिङ गीत ‘माया लाउनै हतार भो’ को भिडिओ भर्खरै सार्वजनिक गरेका छन् । केही समय अगाडि सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध ‘हेर्न मन भेट्न मन’ बोलको गीतमा सुन्दर अभिनय गरेका हरिओम मङ्गोलले यसपटक आफ्नै गायन र अभिनयमा ‘माया लाउनै हतार भो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

यस युगल गीतको गायनमा हरिओमलाई रचना रिमालले साथ दिएकी छिन् । संयोगान्त भावमा लेखिएको यस गीतमा हेमन्त शिशिरको म्युजिक एरेन्ज, रेकर्डिङ र मिक्सिङ रहेको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा छायाङ्कन गरिएको यस म्युजिक भिडिओमा हरिओम मङ्गोल र रश्मिला तामाङको नृत्यसहितको अभिनय रहेको छ । म्युजिक भिडिओमा प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको कलरिङ्, लक्ष्मण चौहानको सम्पादन रहेको छ भने भिडिओ विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको हो । भिडिओ हरिओम मङ्गोल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।