गायिका सरस्वती सापकोटामा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण

— रोशन मञ्जुश्री अधिकारी

शब्दयात्रा प्रकाशनले गायिका सरस्वती सापकोटा (काभ्रेपलान्चोक) लाई २०८१ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । बागमती क्षेत्रका विभिन्न लोकलयलाई सुमधुर स्वर र गायकीका माध्यमबाट नेपालभरि विस्तार गरेर नेपाली गीति क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई ८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो ।

हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन पितामाताको स्मृतिमा कवि अमर त्यागीले गर्नुभएको हो । पुरस्कार समर्पण गर्दा कोष व्यवस्थापक नेपालबाहिर हुनुभएकाले उहाँका तर्फबाट उपहार र भेटी गीता अधिकारीले हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख अतिथि प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, साहित्यकार ललिता दोषीले शब्दयात्रा पट्ट र कवि केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।